Aamsanchar

अमेरिकाले भन्सार छुट दिएका ७७ वटा स्वदेशी वस्तुको निर्यात न्यून

Author Image
बिहिवार, चैत २, २०७९

काठमाडौँ ।  अमेरिकाले भन्सार छुट दिएका ७७ वटा स्वदेशी वस्तुको निर्यात न्यून रहेको छ । नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्ने लक्ष्यसहित ७७ वस्तुको निर्यातमा अमेरिकाले भन्सार छुट ९शून्य० दिए पनि निर्यात भने बढ्न सकेको छैन । नेपालबाट अमेरिकामा हुने कुल निर्यातमा भन्सार छुट भएका वस्तुको निर्यात अत्यन्त न्यून रहेको छ ।

नेपालबाट भन्सार छुट पाएका झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल, ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोस सम्बन्धित सामानलगायतका वस्तु निर्यात हुन्छन् ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार साढे पाँच वर्षमा तीन अर्ब २४ करोड १८ लाख रुपियाँको सामान निर्यात भएको हो । आव २०७४र७५ देखि चालू आर्थिक वर्षको माघ महिनासम्म सो परिमाणमा सामान निर्यात भएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा। नारायण रेग्मीले पर्याप्त उत्पादन गर्न नसक्दा निर्यात गर्न नसकिएको बताउनुभयो । गुणस्तरयुक्त वस्तु उत्पादन नहुँदा निर्यात बढ्न नसकेको उहाँले बताउनुभयो । “ठूलो परिमाणमा सामानको माग हुन्छ, उत्पादन पर्याप्त नहुँदा न्यून मात्रामा निर्यात भएको छ, निर्यात बढाउन उद्योगको क्षमता बढाएर गुणस्तरीय सामान उत्पादन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

एक प्रतिशतभन्दा थोरै निर्यात

अमेरिकी बजारमा नेपाली उत्पादनको माग उच्च भए पनि पर्याप्त उत्पादन नहुँदा निर्यात बढ्न नसकेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिनामा अमेरिकामा कुल १० अर्ब ७३ करोड ६४ लाख ५८ हजार रुपियाँ बराबरको सामान निर्यात भएकामा भन्सार छुट पाएका वस्तुको निर्यात भने ४१ करोड ४५ लाख ३० हजार रुपियाँको भएको छ ।

आव २०७८र७९ मा अमेरिकामा कुल निर्यात १७ अर्ब ९९ करोड रुपियाँ बराबरको भएकोमा भन्सार छुट दिएका वस्तुको निर्यात भने ७२ करोड ७८ लाख ६० हजार रुपियाँ बराबरको रहेको थियो । यसैगरी आव २०७७र७८ मा अमेरिकामा कुल निर्यात १३ अर्ब ७९ करोड ३५ लाख ३४ लाख रुपियाँ भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३८ करोड ७१ लाख नौ हजार रुपियाँको भएको केन्द्रको तथ्याङ्क छ ।

यस्तै २०७६र७७ मा अमेरिकामा कुल निर्यात नौ अर्ब ४४ करोड ४३ लाख ६६ हजार रुपियाँ बराबरको थियो । सोही आर्थिक वर्ष भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३५ करोड ४८ लाख ७९ हजार रुपियाँको भएको तथ्याङ्क छ ।

आव २०७५र७६ मा कुल निर्यात १० अर्ब ८४ करोड आठ लाख ६२ हजार रुपियाँ भएकोमा छुट पाएका वस्तुको निर्यात ६८ करोड ३८ लाख १८ हजार रुपियाँको भएको थियो भने आव २०७४र७५ मा अमेरिकामा कुल निर्यात नौ अर्बको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६७ करोड १२ लाख तीन हजार रुपियाँको भएको थियो ।

अमेरिकाले सन् २०१५ देखि सन् २०२५ सम्म नेपाललाई ७७ वटा वस्तु निर्यातमा भन्सार छुटको सुविधा दिएको छ । अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै विशेष व्यापार ग्राह्यता ९स्पेसल ट्रेड प्रिफरेन्स० दिने कानुन ल्याएर ७७ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । यसअघि अमेरिकामा नेपाली वस्तुको निर्यातमा हाल १७ देखि ३३ प्रतिशतसम्म भन्सार लाग्दै आएको थियो ।

मागबमोजिम आपूर्ति भएन

व्यापारविज्ञ रविशङ्कर सैँजूले ठूलो परिमाणमा उत्पादन गर्न नसक्दा मागअनुसार सामान निर्यात गर्न नसकिएको जानकारी दिनुभयो ।

“भन्सार छुट भएका सामान साना, घरेलु र मझौला उद्योगबाट उत्पादन हुन्छन् । सानो परिमाणमा उत्पादन हुने सामान सङ्कलन गरेर पठाउन नसक्दा निर्यात हुन सकेको छैन,” उहाँले भन्नुभयो । बजारको सुविधा भए पनि उद्योगी बजारको मागअनुसार सामान आपूर्ति गर्न नसकेकाले निर्यात बढ्न नसकेको हो । यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

झन्झटिलो प्रक्रिया

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले अमेरिकाले निर्यातमा छुटको सुविधा दिए पनि सामान पठाउन झन्झटिलो प्रक्रिया हुँदा निर्यात गर्न नसकिएको बताउनुभयो । “भन्सारमा सामान चेकजाँचदेखि क्लियरेन्समा समस्या छ, भाडादर उच्च हुँदा व्यवसायीले सामान निर्यात गर्न नसकेको हो,” उहाँले भन्नुभयो । अमेरिकामा पस्मिनाका सामान धेरै निर्यात हुने गरेकोमा कोभिडपछि उत्पादनमूलक उद्योग बन्द भई टे«डिङ बढेको चर्चा गर्दै उहाँले उत्पादन बढाउन सरकारले प्राविधिक सहयोग बढाउनुपर्ने सुझाव दिनुभयो ।

लगेज, ह्यान्ड ब्याग, ट्राभल ब्याग, कार्पेट, सल, स्कार्फ, ब्ल्याङ्केट, टोपी, कपासका कपडालगायत वस्तुको माग बढी भए पनि पर्याप्त उत्पादन हुन नसक्दा निर्यात न्यून परिमाणमा मात्र भएको उहाँको भनाइ छ ।

सन् २०१६ को अमेरिकी व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयनसम्बन्धी ऐन, २०७३ मङ्सिर ३० देखि लागू भएको हो । यो कार्यक्रमअन्तर्गत निश्चित प्रकारका गलैँचा, झोला, शिरपोस, सल, स्कार्फ, छाला तथा भ्रमण सामग्रीलगायतका नेपाली निर्यात वस्तुलाई नयाँ भन्सार छुट सुविधा दिएको छ । यसअघि यस्ता प्रकारको वस्तुलाई अमेरिकी बजारमा अन्य सुविधा वा छुटको व्यवस्था थिएन ।  गोरखापत्रमा लक्ष्मी सापकोटाले लेखेको समाचार ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर