बिर्तामोड । नेपाली चलचित्रकर्मी किरण खतिवडालाई ९औँ अन्तर्राष्ट्रिय सान्थाली सम्मेलन–२०२६ का अवसरमा प्रतिष्ठित ‘साधु रामचन्द मुर्मु–पण्डित रघुनाथ मुर्मु अवार्ड’ प्रदान गरिएको छ ।

भारतको दार्जिलिङमा आयोजित उक्त सम्मेलन अन्तर्राष्ट्रिय सान्थाल परिषद्, नयाँ दिल्लीको सहकार्यमा सम्पन्न भएको हो। सम्मेलनमा विभिन्न देशका विद्वान्, कलाकार तथा सांस्कृतिक प्रतिनिधिहरू सहभागी भई सान्थाली भाषा, संस्कृति र आदिवासी पहिचानका विषयमा छलफल तथा आदान–प्रदान गरेका थिए ।
कार्यक्रमको प्रारम्भिक कार्यतालिका अनुसार उक्त सम्मान भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले उद्घाटन सत्रमै प्रदान गर्ने योजना थियो। तर प्राविधिक कारणले सो सत्रमा पुरस्कार वितरण हुन नसकेपछि विशेष सत्रमार्फत् पूर्व भारतीय राजस्व लेखा सेवा (आईआरएएस) अधिकारी उदयनाथ माझीले खतिवडालाई उक्त अवार्ड प्रदान गरेका थिए । खतिवडा झापा बिर्तामोड–२ चारपाने निवासी हुन् ।
चलचित्रमार्फत सन्थाली संस्कृति प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै खतिवडालाई यो सम्मान प्रदान गरिएको हो। उनी स्वयं सन्थाली समुदायका सदस्य नभए पनि नेपालमै पहिलो पटक सन्थाली भाषामा बनेको फिचर फिल्म ‘बोनोडाल (चेन्ज)’ निर्माण गरेर इतिहास रचेका छन्। उक्त चलचित्रमा निर्देशन, छायाँकन, अभियन र पटकथाको पनि एकै साथ काम गरेर चर्चामा आएका हुन् ।



खतिवडाको यस कार्यलाई नेपालका आदिवासी कथाहरूलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने तथा चलचित्रमार्फत सांस्कृतिक आदान–प्रदानलाई मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



