Aamsanchar

चारपानेबाट सुरु भयो नेपालकै पहिलो टिभिएस ‘किङ्ग एभी म्याक्स’ बिक्री

Author Image
शुक्रवार, जेठ १, २०८३

झापाको बिर्तामोड–२ चारपानेमा रहेको सहारा ग्रीन इनर्जी एण्ड मोविलिटी प्रालि ले नेपालमै पहिलो पटक टिभिएसको विद्युतीय तीन पाङ्गे सवारी ‘टिभिएस किङ्ग एभी म्याक्स’ बिक्री–वितरण सुरु गरेको छ ।

पूर्वाञ्चलका लागि आधिकारिक विक्रेताको रूपमा नियुक्त उक्त कम्पनीले शुक्रबार आयोजित विशेष समारोहमार्फत सवारी सार्वजनिक गरेको हो । नेपालका लागि टिभिएस तीन पाङ्गे सवारीको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालि को सहकार्यमा आयोजित कार्यक्रममा उद्योग, व्यवसाय, सञ्चार र सुरक्षाक्षेत्रका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

सवारी सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियार, सहारा नेपाल साकोस का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ झापा का अध्यक्ष एकराज गिरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई ले संयुक्त रूपमा सवारी अनावरण गरेका थिए ।

कार्यक्रमकै अवसरमा पाँच जनाले नयाँ सवारी बुकिङ गरेका छन् भने तीन जना ग्राहकलाई सवारीको चाबी हस्तान्तरण गरिएको सहारा ग्रीन इनर्जी एण्ड मोविलिटीका म्यानेजर नविन गिरी ले जानकारी दिए ।कम्पनीका बिजनेस हेड हरि न्यौपाने का अनुसार सवारीमा आधुनिक प्रविधि र दीर्घकालीन उपयोगितालाई प्राथमिकता दिइएको छ । कम्पनीले उक्त सवारीमा ६ वर्षको वारेन्टीसमेत उपलब्ध गराएको जनाएको छ ।

उनका अनुसार पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यका कारण साना तथा मध्यम व्यवसायिक सवारी चालकहरू आर्थिक दबाबमा परिरहेका बेला मितव्ययी विकल्पका रूपमा ‘टिभिएस किङ्ग एभी म्याक्स’ बजारमा ल्याइएको हो ।हाल ‘प्रिस्टिन ह्वाइट’ र ‘नेप्च्युन ब्लु’ रंगमा उपलब्ध उक्त सवारीको मूल्य ८ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । आगामी दिनमा अन्य रंगसमेत उपलब्ध गराइने तयारी रहेको छ ।

सवारीमा ११ किलोवाट क्षमताको स्थायी चुम्बक समकालीन मोटर, ४० एनएम टर्क, इको, सिटी र पावर मोड, ड्रम ब्रेक तथा अगाडि–पछाडि गियर प्रणाली जडान गरिएको छ ।

त्यस्तै, २ घण्टा १५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने तथा पूर्ण चार्ज हुन करिब ३ घण्टा ३० मिनेट लाग्ने कम्पनीको दाबी छ । सवारीको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर रहेको छ भने इको मोडमा ४०, सिटी मोडमा ५० र पावर मोडमा ६० किलोमिटरसम्म गति लिन सक्ने बताइएको छ ।

५ सय मिमिसम्म पानीमा सञ्चालन गर्न सकिने उक्त सवारीमा ९.२ किलोवाट–घण्टा क्षमताको ५१.२ भोल्ट लिथियम–आयन एलएफपी ब्याट्री प्रयोग गरिएको छ ।

कार्यक्रममा वक्ताहरूले विद्युतीय सवारी वातावरण संरक्षण, खर्च कटौती तथा दीगो यातायात प्रणालीका लागि प्रभावकारी विकल्प बन्दै गएको धारणा राखेका थिए । स्वागत दीपक भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुनिता तामाङ ले गरेकी थिइन् ।

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर