काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव १५ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता शेयर एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २१ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त कम्पनीको शेयर साढे सात प्रतिशत र सृजनशील लघुवित्तको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै मायाखोला जलविद्युत्, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।