Aamsanchar

दाइजो कसूरका आरोपित डा. चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश

Author Image
शुक्रवार, चैत १०, २०७९

जनकपुरधाम : दाइजो कसूरका आरोपित डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीले पूर्वपक्षका लागि जेल चलान गरेका चौधरीलाई उच्च अदालत जनकपुरले राहत दिँदै धरौटीमा छोड्न आदेश दिएको हो ।

उच्च अदालत जनकपुरको इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी महोत्तरीकी औरही नगरपालिका १ माइत भएकी २१ वर्षीया नेहा चौधरीले मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेमपछि २५ फागुन २०७८ मा नेहा र पंकज बीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो ।

नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् । विवाहको चार महिना पछि दुबैबीच मनमुटाव उत्पन्न भएको थियो ।

दाइजोसम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० गत जलेश्वर कारागार चलान भएका थिए । महोत्तरी जिल्ला अदालतको आदेशमा चलाउन भएका उनी थुनामै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)