Aamsanchar

बीमाको रकमका लागि श्रीमानको हत्या गरेकाे पाँच महिना पछि खुलासा, श्रीमतीसँगै भाउजू र बुहारी पक्राउ

Author Image
बिहिवार, चैत १६, २०७९

जनकपुरधाम – सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ ।

ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् ।६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको बतायो । तर अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपक रायले बताए ।इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नतामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ ।डीएसपी रायका अनुसार ऋण चुक्ता गर्न योजनावद्ध तरिकाले शिवशंकरको हत्या गरेको बयान दिएका छन् । घरव्यवहार चलाउन शिव शंकर र कोशिलादेवीले नातामा भाउजू पर्ने शान्ति देवीसित ऋण लिएका थिए । शान्ति देवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । दाउरा बेचविखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन् ।त्यसक्रममा शान्तिले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् । शान्तिले हत्यापछि बीमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमानको हत्या गर्ने योजना बनाएकी हुन् ।

योजना अनुसार शान्तिदेवीले रकम उपलब्ध गराएपछि दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०÷२० लाखको बिमा गराए । ५ कात्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा तार बेरेर करेन्ट लगाएको खुलेको डीएसपी रायले बताए ।

करेन्ट लगाउने बेला बुहारी हिरण देवीले टर्च बालेर सहयोग गरेकी थिइन् । मृत्यु पश्चात कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको रहस्य खुलेपछि प्रहरीले कोशिलादेवीसहित तीनै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी रायले बताए ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर