Aamsanchar

हल्दिबारीमा निःशुल्क आँखा शिविरमा म्याद गुज्रिएको औषधि वितरण भएकाे बारे गाउँपालिकाले गठन गर्‍यो छानबिन समिति

Author Image
बिहिवार, चैत १६, २०७९

झापा : झापाको हल्दिबारीमा आयोजित निःशुल्क आँखा शिविरमा बिरामीलाई म्याद गुज्रिएको औषधि वितरण गरेको पाइएको छ । शिविरमा म्याद गुज्रिएको औषधि वितरण गरिएको घटना बाहिरिएसँगै हल्दिबारी गाउँपालिकाले तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा प्रशासन शाखा प्रमुख राजन न्यौपाने र लेखा प्रमुख दीपक भट्टराई रहेका छन् ।

समितिले म्याद गुज्रिएको औषधि बारेमा छानबिन गरी तीन दिनभित्र गाउँपालिकालाई प्रतिवेदन बुझाउने स्वास्थ्य शाखा प्रमुख निरौलाले बताए । ‘छानबिन लगभग सकिएको छ,म्याद गुज्रिएको औषधि फेला परेको हो, मेची नेत्रालयको विवरण आउन बाँकी छ,’शाखा प्रमुख निरौलाले भने,‘आजसम्म प्रतिवेदन बुझाउने समय तोकिए पनि स्थानीय बिदाका कारण गाउँपालिकालाई भोलिसम्म प्रतिवेदन बुझाउँने तयारी छ ।’

गत चैत ११ गते हल्दिबारी गाउँपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा मेची नेत्रालय काँकडभिट्टा, हेल्पिङ हेन्डस एजुकेसनले प्राविधिक सहयोग गरेका थिए । सो शिविरमा ५०१ जनाले आँखा परीक्षण गराएका थिए । त्यसमध्ये ३७८ जनालाई चस्मा वितरण गरिएको र  २६ जनालाई मोतीबिन्दुको शल्यक्रियाका लागि मेची नेत्रालय पठाइएको थियो ।

शिविरमा वितरण गरिएको स्टेरिल नामक आँखाको औषधिमा  एक्सपायर डेट अप्रिल २०२२ र नोभेम्बर २०२१ उल्लेख छ ।  ठूलो सङ्ख्यामा आँखा उपचार गराउन स्थानीयहरू शिविरमा आएकाले उक्त म्याद गुज्रिएको औषधि कति बिरामीलाई वितरण गरियो सो जानकारी आफूलाई थाहा नभएको हल्दिबारी–४ का वडा अध्यक्ष सन्तकुमार थापाले बताए ।

सो म्याद गुज्रिएको औषधि एउटै गाउँका ११ परिवारमा फेला परेको हल्दिबारीका स्थानीय पंकज शाहले बताए।

Views: 384

प्रतिक्रिया (०)

सम्बन्धित खबर