Aamsanchar

पाँचथरको दुर्गम गाउँ फालेलुङमा एक युवाले थाले साबुन उद्योग

Author Image
शुक्रवार, चैत १७, २०७९

पाँचथर : पाँचथरको दुर्गम मानिएको फालेलुङ गाउँपालिका–३ ताङ्लेपाका २८ वर्षीय एक युवकले गाउँमै साबुन उद्योग खोलेका छन्। विदेशबाट फर्किएपछि प्रयास केरुङले ‘फालेलुङ साबुन उद्योग’ सञ्चालनमा ल्याएका हुन्। युवाहरूलाई उद्यमशील बनाउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको उनले सुनाए।

केरुङले २५ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालन गरेर लुगा धुने साबुन उत्पादन सुरु गरेका हुन्। साबुन उत्पादनका लागि चाहिले कच्चा पदार्थ विराटनगरबाट ल्याउने गरेको उनले सुनाए। ‘उद्योगबाट दैनिक दुई सय साबुन उत्पादन गर्न सकिन्छ,’ केरुङले भने ‘साबुन खपतको अवस्थालाई हेरेर उत्पादन गरिरहेको छु।’

उद्योगबाट २५० ग्रामको साबुन उत्पादन भइरहेको छ। उनले उत्पादन गरेको साबुन प्रतिगोटा ३५ रुपैयाँले बेच्ने गरेको सुनाए। ‘यही साबुन व्यापारीले ४५ रुपैयाँसम्ममा बिक्री गर्छन्,’ केरुङले भने। मलेसियामा पाँच वर्ष बिताएर स्वदेश फर्किपछि उनले उद्योग सञ्चालन गरेका हुन्। विदेशमा कमाएको पैसा र सीप उद्योग सञ्चालनका लागि खर्चिएको उनको भनाइ छ।

‘विदेशमा सिकेको सीपबाट उद्योग सञ्चालनमा ल्याएको छु,’ केरुङले भने ‘उता सिकेको सीप र युट्युब हेरेर साबुन उत्पादन गर्न थालेको हो।’ युवाहरूलाई उद्यमशील बनाउने उद्देश्य रहेको उनले सुनाए। ‘विदेशको कमाइ अन्यत्र पनि लगानी गर्न सक्थें,’ केरुङले भने ‘गाउँमै उद्यम गरेर आयआर्जन गर्नुपर्छ भनेर उद्योग खोलेको हो।’

उत्पादित साबुन बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गरिदिनु पर्नेे उनको अपेक्षा छ। ‘ग्रामीण क्षेत्रमा उद्योग सञ्चालनमा ल्याएको छु,’ उनले भने, ‘यहाँबाट उत्पादित साबुन खपत गराउनका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्छ।’ पालिकामै उत्पादन गरिएको साबुन प्रयोग गरिदिन केरुङले स्थानीयसँग पनि आग्रह गरेका छन्।

Views: 319

प्रतिक्रिया (०)

सम्बन्धित खबर