Aamsanchar

भवन संहिता पालनामा कडा बन्दै कनकाई, लाखौं जरिवानादेखि घरै भत्काउन सकिने निर्णय

Author Image
शुक्रवार, चैत १७, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका नगर क्षेत्रमा भवन संहिता पालनामा लागि परेको छ ।

नगर क्षेत्रमा मापदण्ड अनुसारको घर, भवन लगायतका संरचना निर्माण गर्ने गराउने उद्देश्यका साथ नगरपालिका भवन संहिता पूर्ण कार्यान्वयन गराउन लागि परेको हो । गत चैत ७ गते कार्यपालिकाको बैठकबाट नगर क्षेत्रमा रहेका नयाँ तथा पुराना घर नक्सा पासका लागि केही महत्वपूर्ण निर्णय गरिएको नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।

“घर र भवनहरू सर्वसाधारणको दैनिकीसँग जोडिएको कुरा हो”, उहाँले भन्नुभयो, “त्यसलाई सुरक्षित र भरपर्दो बनाउन जरुरी छ, सरकारले भवन संहिता जारी गरेको छ, त्यसको कार्यान्वयन र नगर क्षेत्रमा घर,भवन निर्माणलाई व्यवस्थित गर्न लागि परेका छौं ।”
यस अघि पनि नगरपालिकाले  पटकपटक भवन संहिता पूर्ण कार्यान्वयन गराउनका लागि विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन , प्रसारण तथा माइकिङ गर्दा पनि अटेर गरेकै कारण अब भने नगरपालिका कडाइका साथ यो कदम चाल्न बाध्य भएको  नगर प्रमुख पोख्रेलको भनाई छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४२ मा उल्लेख भए बमोजिम घर नक्सा पास सम्बन्धी विशेष व्यवस्थामा मापदण्ड पुगेका तथा स्थानीय सरकार सञ्चालन ऐन जारी हुनुभन्दा अघि नै निर्माण कार्य प्रारम्भ भई सम्पन्न भइसकेका भवनहरूको (अव्यावसायिक भवन बाहेक ) हाल नक्सा पास गर्न वा स्वीकृत नक्सा हेरफेर गर्न लाग्ने दस्तुरको तेब्बर लिई पास गर्ने व्यवस्था रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

२०७४ असोज २९ गते उक्त ऐन जारी भएपछि स्वीकृति नलिई निर्माण भएका घर नक्सा अद्यावधिक गर्न समस्या भएको उहाँले बताउनुभयो । ऐन जारी भएपछि नगर क्षेत्रमा घर नक्सा इकाइबाट राजश्व तिरी सम्पन्न प्रमाणपत्र लिन बाँकी रहेका ११५ घरको हकमा एक पटक तेब्बर दस्तुर लिई सम्पन्न प्रमाणपत्र दिने नगरपालिकाले निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, २०७९ पुस २९ गतेसम्म नगरपालिकाको एकीकृत घर नक्सा सफ्टवेयरमा दर्ता भएका २० वटा घरहरूको नक्सासमेत सोही बमोजिम गर्ने भएको छ भने उक्त घरहरू चालू आव २०७९/०८० को असार मसान्तसम्ममा घर अभिलेखीकरणको प्रमाण पत्र लिई सक्नुपर्ने नगरपालिका प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, २०७४ असोज २९ भन्दा पछि बनेका संरचनाहरूको अभिलेखिकरणलाई  समेत नगरपालिकाले अन्तिम पटक म्याद थप गरेको छ । चालु  २०७९/०८० को असार मसान्तसम्म दर्ता हुने गरी अन्तिम पटकका लागि म्याद थप गरिएको नगरपालिकाले जनाएको छ ।

“त्यसरी दर्ता हुन आउने घरहरूको हकमा नक्सा पास गर्न वा स्वीकृत नक्सा हेरफेर गर्न लाग्ने दस्तुरको पाँच गुणा दस्तुर लिएर अभिलेखीकरण गर्ने निर्णय भएको छ”, प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो, “आवश्यक कागजातसहित तोकिएको अवधिभित्र निवेदन दर्ता गर्न लाभग्राही नगरबासीलाई आग्रह गर्दछौं ।”

नगरपालिका क्षेत्रमा घर,भवन निर्माण गर्नुपूर्व भवन संहिता बमोजिम अनिवार्य निर्माण स्वीकृति लिएर मात्र निर्माण कार्य शुरु गर्न–गराउन हुन समेत नगरपालिकाले आग्रह गरेको छ भने नक्शा पास प्रक्रिया बिना निर्माण कार्य गरे–गराएका घर–भवनहरु नियमानुसार दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा घर संरचना भत्काउने वा दुवै हुन सक्ने नगरपालिकाले जनाएको छ ।

घर नक्सा पासका लागि जग्गा धनीको नागरिकताको प्रतिलिपि, धनी पूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिदको प्रतिलिपि, जग्गाको वडा नक्सा–फाइल नक्सा प्रतिलिपि, चार किल्ला प्रमाणित कागजात, जग्गा धनीको दुईप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने नगरपालिकाका कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)