Aamsanchar

एमाले अध्यक्ष ओलीले सन्थाललाई सतार र सन्थाली महिलालाई क्या बोल्ड भनेको भन्दै समुदायद्वारा आपत्ती 

Author Image
मङ्गलवार, चैत २८, २०७९


बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा सन्थाल जातीका महिलाहरूलाई अपमान, होच्याउने र जंगली युगको जाती भनेर उदाहरण दिएको भन्दै सन्थाल समुदायका सङ्घहरूले आपत्ती जनाएका छन् ।

नेपाल सन्थाल आदिवासी उत्थान संघ, रिलोमाला सन्थाली अखडा, नेपाल सन्थाल विकास संघ, नेपाल सन्थाल महिला उत्थान संघ, सन्थाल जाती उत्थान सेवा समाज र नेपाल आदिवासी जनजाति महासंघ झापाले संयुक्त रुपमा आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि विज्ञप्ति मार्फत आपत्ती जनाए हुन ।

अध्यक्ष ओलीले गत चैत १९ र २० गते काठमाडौंमा सम्पन्न लोकतान्त्रिक आदिवासी  जनजाति महासंघ नेपालको दोस्रो महाधिवेशनमा पास्च्यत्य शैलीको पहिरन लगाउनु नहुने भन्ने उदाहरण दिदै  ‘हाम्रो गाउँको सतार महिलाहरू जुन पहिरन लगाउनु हुन्छ त्यो टिभी मा ल्याएर देखाउने हो भने वा क्या सिन भनेर उधुमै मच्चिन्छ, एउटा गाम्छा यसो बेरेको हुन्छ, माथि एउटा हालेको हुन्छ, क्या बोल्ड सिन यतै देखिएको छ, उतै देखिएको छ’ भनेर ओलीले बोलेका थिए ।
ओलीले व्यक्त गरेको शब्द प्रति सन्थाल जातीका संस्था र मात्री संस्था नेपाल आदिवासी जनजाति महासङ्घले आपत्ती जनाउदै ओलीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग राखेका छन् ।

विज्ञप्तिमा भनिएको छ । ‘सन्थाल महिलाहरूले लगाउने लुङ्गी, पन्ची पालहट, पेटीकोट, साडी, चोलो आदि पहिरन कसरी  बोल्ड देखिन्छ । जंगली युगको प्रसङ्ग ल्याएर एककाइसौँ शताब्दीमा सन्थालीहरू अझै संवेदनशिल अंग देखिने पहिरन लगाउँछन् भन्ने हास्य कलाकारको रुपमा दिएको हास्यास्पद अभिव्यक्ति प्रति सन्थाल समुदाय घोर निन्दा गर्दछ ।’

सन्थाल जातीलाई जानी जानी सतार भनेर शब्दकोषमा लेखिएको छ । हामी विगत १ वर्ष देखि हामी सतार होइनौँ सन्थाल हौ, हाम्रो नागरिकता संसोधन गरेर सन्थाल लेखिनु पर्छ भनेर माग राखेर शान्तिपूर्ण आन्दोलन र सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं, देशको प्रधानमन्त्री भई सकेको जिम्मेवार पार्टीको अध्यक्षले सतार भन्नु हाम्रो लागि दुःखको र चिन्ताको विषय बनेको छ । उहाँले तत्काल आफूले बोलेको कुरा गल्ती भएको भनेर माफी नमागे सन्थालहरू चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने रिलोमाला सन्थाली अखडा अध्यक्ष रिमिल श्याम सुन्दर बेस्राले बताए ।

नेपालका सन्थाली महिलाहरूलाई मात्र नभएर हाल भारतको सर्वोच्च पद महामहिम राष्ट्रपति जस्तो गरिमामय पदमा विराजमान सन्थाल महिला द्रोपदी मुर्मु समेतको अपमान भएको ठहर भएको छ । हामी जातीय रुपमा सन्थाल भएको र ‘हामी सतार होइन, सन्थाल हौं’ भनेर अभियान चलाई शान्तिपूर्ण जुलुस समेत प्रर्दशन गरि जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र आदिवासी जनजाति आयोगमा समेत ज्ञापन पत्र बुझाइएको अन्तर्राष्ट्रिय सन्थाल परिषद उपाध्यक्ष तथा संविधानसभा सदस्य मोहन टुडुले बताए ।

अब उपरान्त सरकारी निकाय तथा गैरसरकारी संघ संस्थाका जिम्मेवार व्यक्तिबाट सन्थाल समुदायलाई ठेस पुग्ने शब्द ९सतार० को प्रयोग नहोस् र सन्थाल समुदायका पहिरन लगायत अन्य बारेमा गलत व्याख्या नगरियोस, हाम्रा कुराको सुनुवाई होस् ।  सन्थाल जाती लगायत आदिवासी जनजाति महासंघमा आवद्ध सबै जातीलाई ठेस पुग्ने शब्द प्रयोग र  व्यवहार भए आदिवासी जनजाति महासङ्घले संर्घषका कार्यक्रम ल्याउने र यस विषयलाई प्रदेश नामाकरणको मुद्धा संगै लैजाने नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको भनाई रहेको छ ।

नेपालमा रहेका अति विपन्न, लोपउन्मुख जाती समूदायको मानहानी हुनेगरि उदाहरण दिन पाईदैन । यस्तो अधिकार संविधानले कसैलाई दिएको छैन । देशको प्रधानमन्त्री भई सकेको व्यक्तिले सन्थाल जातिको बारेमा मजाक गरिएको छ । भोली अर्को जातीको बारेमा अपमान शब्द बोल्न सक्छन, यस्तो हेपाह र हैकमवादी र चुच्छ सोच भएका व्यक्तिको संज्ञा दिदै  अब आइन्दा यस्तो शब्द नबोल्न आग्रह गर्दै ओलीले आफूले बोलेको बोली प्रति क्षमा माग्नु पर्छ, क्षमा नमाग्ने हो भने कानुनी बाटोमा  जाने नेपाल सन्थाल विकास संघका अध्यक्ष बडाराम हेमरमले बताए ।

सन्थाली पहिरनमा सजिएका सन्थाली युवतीहरु ।

हाम्रो संस्कृति भेषभूषालाइ केपी ओलीले अपमान गर्नु भयो । उहाँको अभिव्यक्तिले समाजमा हामीले अरुबाट पनि अपमानित हुनुपर्ने अबस्था बनेको छ । केपी ओली अझैपनि जंगली युगकै सोचको हुनुहुदो रहेछ । सन्थाली महिलाले लगाउने पहिरन कस्तो छ भनेर एक पटक झापा आएर हेर्न ओलीलाई आग्रह गर्दै सुभद्रा किस्कुले भनिन बोल्ड भनेको के हो ? के हमीले लगाएको पोषाक रंगमञ्चमा लगाउने पस्चिमा पहिरन जस्तै अर्धनग्न देखिने गरिको छ ?

विज्ञप्ति (पूर्ण पाठ)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
11
+1
2
+1
0
+1
0
+1
3
+1
1
+1
1
Views: 61

प्रतिक्रिया (०)