Aamsanchar

सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सपथ ग्रहण तथा पद हस्तान्तरण

Author Image
बुधवार, चैत २९, २०७९

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

एक विशेष समारोहका वीच संयोजक जनार्दन उप्रेतीले नवनिर्वाचित अध्यक्ष भीमप्रसाद अधिकारी, उपाध्यक्ष राजेन्द्र उप्रेती (राजेश), सचिव गोविन्दप्रसाद पौडेल, कोषाध्यक्ष खेमराज कार्की र सदस्यहरू गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी, महिला सदस्यहरू सोमा प्रसाईँ खरेल र हरिमाया राईलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए । ९ सदस्यीय उक्त समितिका एक सदस्य भरतकुमार श्रेष्ठ काम विशेषले अनुपस्थित रहेका थिए ।

समारोहको अध्यक्षता समेत गरिरहेका नवनिर्वाचित अध्यक्ष अधिकारीले आम उपभोक्तालाई हार्दिक आभार प्रकट गर्दै सुरुङ्गा खानेपानीको स्तरोन्नतिका लागि योजनाबद्ध रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले खानेपानी संस्थाको परिमाणात्मक क्षमता र गुणस्तर अभिवृद्धिका लागि सबैसँग मिलेर अघि बढ्ने बताए । अध्यक्ष अधिकारीले खानेपानी संस्था सबैको साझा भएकाले त्यसको सुधार र क्षमता वृद्धिका लागि आम उपभोक्ता, राजनीतिक दल, स्थानीय संघसंस्था, बुद्धिजीवी, स्थानीय, प्रदेश र केन्द्रीय सरकार सबैलाई सहयोग र समन्वयका लागि अपिल गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भद्रपुरका प्रमुख विकास काफ्लेले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकार भएकोमा जोड दिएका थिए । उनले सुरुङ्गा खानेपानी संस्थाको प्रगतिको प्रशंसासहित आवश्यक सहयोगका लागि नेपाल सरकार तयार रहेको बताए । कार्यक्रममा कनकाई नगर क्षेत्रका लोकप्रिय समाजसेवी शेरबहादुर थापाले सामाजिक संघसंस्थामा चुनाव नगरी मेलमिलापबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए ।

निवर्तमान उपाध्यक्ष युवराज संग्रौलाले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा तिलचन्द्र उप्रेती, सूर्य उप्रेती, हरिप्रसाद सेडाईं, रत्नकुमार श्रेष्ठ, भक्तबहादुर पौडेल, शान्ति उपाध्याय, डा. पुण्यप्रसाद सिग्देल, वेदप्रकाश अग्रवाल, जनार्दन उप्रेती (टप्पु), अम्बिका खरेल, चन्द्रप्रसाद प्रसाईं, कर्णबहादुर डाँगी, खगप्रसाद प्रसाईं, श्रीप्रसाद खरेल, देवराज ओझा, खेमप्रसाद प्रसाईं, लक्ष्मीप्रसाद पाठक, हरिभक्त सिटौला लगायतका सामाजिक अगुवाको आतिथ्य रहेको थियो ।

संस्थापक अध्यक्ष प्रेमप्रसाद दाहाल, गत निर्वाचनका अध्यक्ष पदका उपविजेता प्रेमप्रसाद चुडाल (प्रकाश), नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाईं, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईं लगायतले नवनिर्वाचित समितिलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका थिए । गत चैत १८ गते निर्वाचन सम्पन्न गर्न जनार्दन उप्रेती संयोजक, सोमनाथ उप्रेती र अम्बिका चापागाईं (सुवेदी) सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले भूमिका निभाएको थियो । सुरुङ्गा खानेपानीमा ४ हजार १ सय २८ मतदाता रहेकोमा २ हजार ६ सय १४ मत खसेको थियो ।
कार्यक्रमको सञ्चालन निवर्तमान सचिव मीनकुमार प्रधान (गोपाल) ले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)