

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरा चोकमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । आज भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष १७ का गोपाल विकको घटना स्थलमै र चालक स्थानीय वर्ष २६ का सन्देश बस्नेतको उपचारको क्रममा मृत्यु भएको दाङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

घोराहीबाट तुलसीपुर तर्फ जादै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा ठक्करदिदा बस्नेत र विकको मृत्यु भएको हो ।

घटनामा इलाका प्रहरी नारायणपुर बाट प्रहरी नायब निरीक्षक गोपाल चन्दको कमान्डमा ५ जना र यस जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक सन्तोष न्यौपानेको कमान्डमा १५ जनाको प्रहरी टोली खटिगएको थियो ।

ट्रकका चालक जिल्ला नवलपरासी पश्चिम सरावल गाउँपालिका –३ पिपरा बस्ने वर्ष २८ को धुर्व्र कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुबै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङको शव गृहमा राखिएको छ ।

