काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनायो ।
नेपालका युवा अलराउन्डर कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटमा ओमानसँगको खेलमा कीर्तिमानी शतक बनाएका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्कासहित शतक बनाए । कुशल ६४ बलमा १ सय ८ रनमा आउट भए । उनको यो कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।
उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले यसअघि सन् २०२२ मा पपुवा न्युगिनीसँगको खेलमा कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी एकदिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् ।
यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका छन् । आजको खेलमा नेपालको सुरुवात खराब गरेको थियो । नेपालले पहिलो रन २८औँ बलमा जोडेको थियो।
त्यस्तै नेपालका सोमपाल कामीले ४८ बलमा अविजित ६३ रनको अर्धशतक बनाए । कप्तान रोहित पौडेल २३ रन तथा भीम सार्की ३३ रनमा आउट भएका थिए । नेपालको यो ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।
मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । त्यस्तै बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । आजको अर्को खेलमा मूलपानीमा टस हारेर ब्याटिङ गरेको हङकङले यूएईलाई २ सय ६४ रनको लक्ष्य दिएको छ । हङकङले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनाएको छ ।
१० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।