Aamsanchar

नेपालद्वारा ओमान ८४ रनले पराजित

Author Image
शुक्रवार, वैशाख ८, २०८०

काठमाडौं : नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै एसिसी प्रिमियर कप प्रतियोगितामा लगातार दोश्रो जित पाएको छ।

जितका लागि ५० ओभरमा ३११ रनको लक्ष्य पाएको ओमान ४६ ओभर ३ बलमा २२५ रनमा अलआउट भएपछि खेल नेपालले ८४ रनले जितेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु नेपालले ८ विकेट गुमाएर ३१० रनको विशाल स्कोर तयार पारेको थियो।

दोश्रो ब्याटिङ गरेको ओमानले सबै विकेट गुमाएर जम्मा २२६ रनमात्र बनाउन सक्यो।

ओमानका लागि ओपनर जतिन्दर सिंहले १५ रन बनाए भने अर्का ओपनर काश्यप प्रजापतिले २५ रन बनाए। यसैगरी आदील सफिक १३ रनमा‚ कप्तान जिशान मक्सुद शून्यमा आउट भए।

ओमानका लागि मोहम्मद नदीमाले सर्वाधिक ६५ रन बनाए भने सन्दीप गौडले ४६‚ आयान खानले २९ र फैय्याज बटले १९ रनको योगदान गरे। अकिब इलियास रिटायर्ड आउट भए।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३/३‚ दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले ​एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर गरेको थियो।

नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले। ६४ बल खेलेका उनले १० छक्का र ९ चौकाको सहयोगमा १ सय ८ रनको महत्वपूर्ण योगदान गरे। युवा अलराउण्डर कुशलको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो। सोमपाल कामी ६३ र करण केसी २९ रनमा अविजित रहे।

भीम सार्कीले ३३, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाउँदा सन्दीप लामिछाने ८ र दीपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए।

यसैबीच आजको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो विकेट लिएर एकदिवसीय खेलमा सबैभन्दा छिटो एक सय विकेट लिने कीर्तिमान बनाएका छन्।

४१ खेलमा ९९ विकेट लिइसकेका सन्दीपले ४२ खेल खेलेर सय विकेटको कीर्तिमान बनाएका हुन्। उनीभन्दा पहिले यो कीर्तिमान ४४ खेलमा १ सय विकेट पूरा गरेका अफगानिस्तानका बलर राशिद खानको नाममा थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर