Aamsanchar

कोशी प्रदेश : स्थगित भयाे पहिचान पक्षधरको आन्दोलन

Author Image
सोमवार, वैशाख ११, २०८०

विराटनगर : प्रदेश १ को पुनः नामकरणको माग गर्दै आन्दोलनरत  पहिचान पक्षधरको  निर्णायक आन्दोलन स्थगित भएको छ।

 

आइतबार साँझ बसेको समितिको बैठकले आन्दोलनको कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने र रणनीति परिवर्तन गर्नुपर्ने कारण देखाउँदै केही समय स्थगित गर्ने निर्णय गरेको हो। सोमबारदेखि आन्दोलन निर्णायक हुने  भनिएको  थियो।

‘मिति २०८० वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने भएकोले केही समय ‘पोष्ट पोन्ड’ गर्ने र पूर्वनिर्धारित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, कोशी नाममा हस्ताक्षर दिने ८२ जना प्रदेशसभा सदस्यलाई कालो झण्डा प्रदर्शन गर्ने, सरकारी कार्यालयमा कोशीको बोर्ड, छाप र लेटरप्याड हटाउने, मेटाउने अभियान निरन्तरता दिने,’ बैठकको दोस्रो एजेण्डामा भनिएको छ।’

बैठकले वैशाख ११ गतेदेखि २१ गतेसम्म वडा संयुक्त संघर्ष समिति गठन गरिसक्ने र कोशी नाम खारेजी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी नामकरण गरेसँगै यतिबेला पहिचानवादीहरु आन्दोलित छन्। उनीहरूले कतिपय पालिकाका बोर्ड हटाइदिएका छन् भने प्रदेश अन्तर्गतका कार्यालयहरूले पनि अझै कोशी लेखेको बोर्ड राख्न सकेका छैनन्।

पहिचानवादीहरुले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए।   सोही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो। त्यही चोटका कारण चैत ८ गते बिरामी भएपछि अस्पताल भर्ना भएका उनको चैत १० गते मृत्यु भएको थियो। त्यसपछि पहिचानको आन्दोलनकारी झनै आक्रोशित बनेकाा थिए। आन्दोलनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडी तोडफोड गर्ने प्रयाससमेत गरे।

यस्तै चैत १४ र १५ गतेका लागि विराटनगरको होटल बिगमा तय भएको कार्यक्रममा पहिचानवादीले घेराउ गरेका थिए। त्यस क्रममा पनि झडप  भएको थियो।  आन्दोलनमा दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भएका थिए । शनिबार  लिम्बूको शवयात्राका क्रममा समेत झडप भएको थियो।

झडपमा आन्दोलन पक्ष र  प्रहरी गरी  १२  जनाभन्दा बढी  घाइते भएका छन्। सरकारले चैत २४ गते पदम लिम्बूलाई शहीद घोषणा गरेको छ। उपचारको क्रममा चैत १० गते मृत्यु  भएका उनको शव एक महिनापछि वैशाख ९ मा अन्त्येष्टि गरिएको छ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर