

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्।

जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँगको कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। ‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं।’ उनले भने, ‘सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य छैन्।’
चितवन –२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार लामिछाने जित उन्मुख छन् । पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै ४४ हजार ४८६ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ३६ हजार २११ मतले पछि पारेका छन्। नेपाली कांग्रेसका श्रेष्ठले ८ हजार २७५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन्।

फराकिलो मतान्तरले अग्रता लिएका लामिछानेको नतिजा जित उन्मुख बन्दै गएको छ । बिहान ८ बजे अगाडिसम्म ६२ हजार ८८० मत गणना भइसकेको छ। वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ मा ७८ हजार २७७ मत खसेको थियो। अब १६ हजार मत गन्न बाँकी छ।
जित नजिक पुगेका लामिछानेलाई बधाई दिन प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवार मतगणना स्थल जाने बताइएको छ।

