Aamsanchar

विराटनगरमा पनि आत्मदाह प्रयास

Author Image
बिहिवार, वैशाख १४, २०८०

विराटनगर । आत्मदाह घटनाले नेपालीहरुलाई भयवित बनाई रहेको अबस्थामा आज (बिहिबार) विराटनगरमा एक वृद्धले पनि आत्मदाहको प्रयास गरेका छन् ।

लेटाङ घर भएका नेपाल थरका ६५ वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । शरीरका अधिकांश भाग जलेको कारण उनको अवस्था गम्भीर छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार ग्यालिनमा पेट्रोल लिएर आएका उनले विराटनगर महानगरपालिका-४ तित्रिगाछीमा पुगेर शरीरमा पेट्रोल खन्याएका थिए । जल्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले पानी खन्याएर आगो निभाउने प्रयास गरेका थिए । प्रहरी टोली पुगेर हेर्दा उनको झोलामा रहेको नागरिकताका आधारमा उनको पहिचान खुलेको थियो । वृद्धलाई उपचारका लागि नोबेल अस्पताल लगेकोमा थप उपचारका लागि रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको छ ।

डीएसपी दाहालले घटनाबारे अनुसन्धान सुरू भएको बताए ।

आत्मदाहका पछिल्ला घटनाहरु

संघीय संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गर्दा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
माघ १६ गते पोखरा स्थित काँहुखोलामा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन जाँदा जल्न पुगेकी एक महिलाको मृत्यु भएको थियो। माघ १९ गते जुम्लामा एक जना युवकद्वारा आत्मदाहको प्रयास भएको थियो ।  । गत फागुन ९ गते झापा बिर्तामोडको मुक्तिचोकमा एक युवाले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । जेठ २७ गते अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका २७ वर्षीय युवाले आत्मदह गरेका थिए ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर