विराटनगर । नेपाल अर्बुद रोग विजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा एक दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी श्रीमती सङ्घकी कोषाध्यक्ष सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यमा प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विशेष गरी महिला प्रहरी कर्मचारीहरू, तथा प्रहरी परिवारका सदस्यहरू र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरूका साथै अन्य प्रहरी कर्मचारीहरू गरी १५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल क्यान्सर सरभाइव सोसाइटीको अध्यक्ष प्रतिमा खनाल, विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी, विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा। ज्योति ओझा र नेपाल क्यान्सर सरभाइव सोसाइटीको बोर्ड सदस्य पुजा कुवँरले आआफ्नो अनुभव सहित प्रशिक्षण दिएका थिए।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी श्रीमती संघको तर्फबाट नेपाल अर्बुद रोग बिजेता समाजलाई सहयोग स्वरुप नगद रु १० हजार सहयोग प्रदान गरिएको छ । श्रीमती सङ्घकी कोषाध्यक्ष सिर्जना नेपाल दाहालले नेपाल प्रहरी कर्मचारीहरू तथा आश्रित परिवारजनले महिलाहरूमा हुने क्यान्सर रोग सम्बन्धी ज्ञान हासिल एवं विशेषज्ञ चिकित्सकबाट राय सुझाब प्राप्त गरी लाभान्वित भएको र सचेतना कार्यक्रममा सहकार्य गर्न पाउँदा मनोबल बढेको बताइन ।