Aamsanchar

प्रहरीद्वारा सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सूचना संघीय संसद सचिवालयलाई

Author Image
सोमवार, वैशाख १८, २०८०

काठमाडौं – नेपाल प्रहरीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सूचना संघीय संसद सचिवालयलाई पठाएको छ।

प्रहरीले सोमबार सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर हत्या अभियोग पुष्टि भएका कोइरी फरार रहेको पत्र पठाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए। पत्रमा प्रहरीले सांसद कोइरी फरार रहेकाले पक्राउका लागि सहयोग गर्न आग्रह गरिएको छ।

‘पहिला पनि पत्र पठाएको थियो। आज पनि हामीले उहाँ फरार भनेर अदालतको पूर्णपाठसहितको पत्र सभामुखलाई सम्बोधन गरेर पठाएका हौं,’ उनले भने।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि सभामुखलाई सम्बोधन गरेर पत्र आएको पुष्टि गरे।

उनीविरुद्ध ०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हालेर हत्या गरेको आरोप छ। उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो। तर उनी फरार छन्।

प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै पठाएको पत्रलाई समावेश गरेर बिदा स्वीकृतका लागि पेश गरेका थिए। लगत्तै सत्तापक्षका सांसद्हरूले बैठकमा विरोध जनाएपछि नयाँ अधिवेशनमा कानुन बमोजिम गर्ने भन्दै सभामुख घिमिरे पछि हटेका थिए।

प्रतिनिधि सभाको नियमावली अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने व्यवस्था छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर