

विराटनगर : मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली विक र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते लेटाङकै ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ।
Views: 131

