Aamsanchar

कालीस्थान : स्मृतिका केही बिम्बहरू

Author Image
बिहिवार, वैशाख २१, २०८०

झापाको अर्जुनधारा नगरपालिका १० मा रहेको कालीस्थान भन्नेबित्तिकै मेरो स्मृतिमा केही घटना, केही स्थान, केही पात्र, केही संरचना र केही अनुभूतिहरूका झिल्काहरू आउँछन् । अहिले पनि त्यहाँको भूगोलमा खोज्ने हो भने मेरा स–साना पाइलाका गहिरा डामहरू भेटिन सक्छन् । किनभने म जन्मिएदेखि युवावस्थामा निरन्तर हिँडेको, कुदेको, कच्चा मस्तिष्कले परिपक्वताको यात्रा शुरूवात गरेको पवित्र भूमि हो यो । यहाँको निष्कपट बासिन्दाहरूको सुसंस्कृत व्यवहार र सकारात्मक सोचको गहिरो प्रभाव बोकेर अहिले पनि म लम्किरहेछु, सिर्जनशीलताको जीवन्त कुलेसोबाट सिंचित बन्दै सिर्जनाको यात्रामा होमिएको छु ।
मैले अक्षारम्भ गरेको कालीस्थान प्राथमिक विद्यालयमा अहिलेको माध्यमिक विद्यालयजस्तै भौतिक पूर्वाधार थिएन । न त कालिकापीठको भौतिक संरचना नै अहिलेको जस्तो थियो । घरबाट दुई कि.मी. दूरीमा रहेको यो स्कुल पुग्न सक्ने भएदेखि नै म दाइहरूको पछि लाग्दै पुग्थे र शिशु कक्षामा बस्दथें । कालिकापीठको ठूलो वरको रूखको फेदमा कालोपाटी राखेर हामीलाई वर्णमाला सिकाइएको हो । बाहिर खुला ठाउँमै वरको शितलमा राखेर हामीलाई शिक्षकहरू तिलक भण्डारी, कृष्ण चापागाईँ, केहरसिंह अधिकारी, डम्बर बस्नेत आदिले पढाउनुहुन्थ्यो । यो वर नै अहिले कालिका पीठ अक्षयवृक्षका रूपमा प्रसिद्ध छ । अहिले पनि यो वरको लहराहरूमा समाएर बाल्यकालमा हुँइकिएको याद आइरहन्छ ।

कालीस्थान चोकबाट उत्तरतिर जाने बाटो र अक्षयवृक्षका बीचमा एउटा लामो काठको एकतले घर थियो । बीचका काठकै बारहरू खोल्न पनि मिल्ने यो घरलाई काठ गोदामका नामले पनि चिनिन्थ्यो । यो घर शायद मन्दिरकै जमिनमा बनेको थियो । हामीलाई कक्षा चढ्दै जाँदा त्यो काठेघरको कोठाहरूमा पाइयो । मलाई यी घर सम्झँदा त्यहाँको महत्वपूर्ण सिर्जनात्मक गतिविधिहरूको यहाँको बीचका बारहरू झिकेर ठूलो हल बनाई बेलुकाको नाटकहरू पनि देखाइएको थियो । विद्यालयका प्रधानाध्यापक र समाजका अग्रणी व्यक्तित्व लक्ष्मीप्रसाद मिश्रले लेख्नु र निर्देशन गर्नुभएको नाटक कल्पना भित्रको अधुरो सपना का दृश्यहरू अहिले पनि म सम्झन्छु । स्थानीय कलाकारहरू योगनाथ पोखरेल, शान्ति तामाङ, सुमिता थापा, डिकबहादुर बस्नेत, कर्ण तामाङ, अशोक आले, टेकबहादुर थापा, भूमिका बराल, टेकमाया बराललगायतले अभिनय गरेको यो र अन्य नाटकहरूले त्यो भेगमै प्रसिद्धि कमाएको थियो । टिकटमा सञ्चालन गरिएको उक्त नाटक शायद विद्यालय र कालीस्थान मन्दिरको भौतिक संरचना निर्माणका लागि प्रस्तुत गरिएका थिए । नाटक मञ्चनमा रेडियो नेपालको शनिबार २ बजे प्रशारण हुने नाटक र राजधानीका रङ्गमञ्चमा मञ्चन भएका नाटकहरूको प्रभाव थियो सायद ।
त्यसैबेला आध्यात्मिक र साहित्यिक गतिविधिहरू पनि भइरहन्थे । आध्यात्मिक गतिविधिहरूमा रोहिणीबलास लुइटेल, लोकनाथ पौडेल, लक्ष्मी मिश्र, कवि लक्ष्मीप्रसाद, गोविन्द काफ्ले आदि सक्रिय हुनुहुन्थ्यो । उहाँहरूकै पहलमा २०३३ सालमा यस पवित्र भूमिमा बृहद हिन्दू आध्यात्मिक परिषदको सम्मेलन पनि भएको थियो । त्यहां उपस्थित योगी नरहरिनाथ लगायतका धर्मगुरुहरूको धमिलो सम्झना अहिले पनि मेरो मस्तिष्कमा आउँछ ।
साहित्यिक गतिविधिहरू पनि यहाँ भइरहन्थे । त्यो काठेघरमा जिल्लाका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको भेला हुन्थ्यो । भवानी घिमिरे, भक्ति उप्रेती, कृष्ण धरावासी, अमृतलाल श्रेष्ठ, ढिकमान विरही, केशव आचार्य, आदि स्थापित साहित्यकारहरू र उदीयमान कविहरू दुवसु क्षेत्री, भीष्म उप्रेती, पुण्य बराल, अर्जुन बराल, मुकुल दाहाल, गोविन्द दाहाल आदिको प्रस्तुतिसहितको सिर्जनात्मक जमघट भइरहन्थ्यो । यसबाट त्यहाँ सिर्जनात्मक वातावरणको जरा रोपिएको थियो ।

मेरो हृदयमा बहुसांस्कृतिकताको व्यावहारिक जरा कालीस्थानकै भूमिबाट गाडिएको हो । यहाँ ब्राह्मण, क्षेत्री, तामाङ, नेवार, मगर, राजवंशी, थारू, सन्थाललगायतका जातजातिको सद्भावपूर्ण बसोबास रहेको छ । धार्मिक रूपमा हिन्दू बौद्ध प्रकृतिधर्म आदि मान्ने यहाँका बासिन्दाबीचमा आपसी सम्मान, सद्भाव र सहिष्णुता ब्यावहारिक रूपमै पाइन्छ ।
जब कालीस्थानको सन्दर्भ आउँछ, मेरो मस्तिष्कमा सधैं नै एउटा व्यक्तित्वको विम्ब आउँछ । सँधै धेरै पत्र लुगा लगाउने, अग्ला व्यक्तित्व भएका, घोडा चढेर हिड्ने, कोट वा ज्याकेटको गोजीबाट केटाकेटीहरूलाई मिठाई फ्याकिदिने र टिपेर खाएको हेर्दै आनन्द लिने मान्छे । हामी उहाँ आएको परैबाट देखेपछि खुशी हुन्थ्यौ चकलेट पाउने आशामा, नभन्दै हाम्रो आशा कहिल्यै निराशामा बदलिन परेन । उहाँ नै कालीस्थानको भौतिक, आध्यात्मिक, शैक्षिक र सामाजिक विकासका प्रमुख व्यक्तित्व मानिनुहुन्छ । चैनपुरे बा अर्थात दलमान तामाङ । उहाँले ११ कठ्ठा जग्गा कालीस्थान मन्दिरलाई उपलब्ध गराउनुभएको छ र उहाँकै नाति कर्ण तामाङले १ कठ्ठा जग्गा दिनुभएको छ । चैनपुरेबाले दान गर्नुभएको जमिनको जगमै उभिएका कालीस्थान मा.वि. स्कूल, र कालीस्थान बौद्ध चक्र गुम्बा कालीस्थानका गर्वका रूपमा रहेका छन् । साथै उहाँले सयौंका संख्यामा त्यस भेगका मानिसको सेवाका लागि निजी लगानीमा इनार खनाउनुभएको छ । मेरो प्यारो जन्मस्थान कालीस्थान, उप्रेतीडाँडा म बारम्बार जाने आउने गर्छु । प्रत्येकपटक जाँदा म अनिवार्य रूपमा कालीस्थान मन्दिर विद्यालय र गुम्बाक्षेत्रको अवलोकन गर्छु । त्यहाँका गतिविधि अझ फराकिला, तिब्र र गम्भिर रूपमा अघि बढिरहेको पाउँछु । सबै समुदायका मानिसहरू सबैका चाडपर्वमा उत्तिकै सक्रियताका साथ सहभागी हुँदै आफ्नो ठाउँप्रति गर्व गरेको पाउँछु । चाहे दशैंको बेला तथा अन्य विभिन्न सांस्कृतिक महत्व राख्ने पर्वमा कालीस्थान मन्दिरमा होस् वा बौद्ध पूर्णिमामा कालीस्थान बौद्धचक्र गुम्बामा, उत्साह अझ बढेको छ, आत्मियता अझ चुलिएको छ । दुवै ठाउँमा नयाँ पुस्ता अझ सक्रिय भएकोले भौतिक संरचना निर्माणले पनि तिव्रता पाएको देख्छु । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सक्रियता तथा जोशको कुशल संयोजनबाट कालीस्थान विकसित बन्दो छ । यसैमा मलाई गर्वबोध छ ।

संसारका प्रत्येक मानिसले एकपटक टेकोस्–कालीस्थानको पवित्र भूमि र आफूलाई परिष्कार गरोस्, सार्थक बनाओस् आफ्नो जीवनयात्रा र चुमोस् लक्ष्यको सगरमाथा । यस पवित्र भूमिले अवश्य प्रेरणा दिनेछ ।

लेखक नेपाल टेलिभिजनका प्रमुख कार्यक्रम निर्माता हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर