


बिर्तामोड । देश विदेशमा छरिएर रहेका विवाहित महिलाहरूलाई एकीकृत गराई परोपकार तथा लोक कल्याणकारी कामहरू गर्दै जनसमुदायमा विश्वास र मायाको सम्बन्ध स्थापना गराई महिला हिंसा तथा बाल हिंसा विरुद्ध काम गर्ने अभियान अन्तरगत स्थापना भएको मेची-महाकाली बुहारी संयुक्त आवाज जिल्ला समिति झापाको कार्यालय बिर्तामोड स्थित गरामनीमा स्थापना गरिएको छ ।
आज (शनिवार) मेचीमहाकाली बुहारी संयुक्त आवाज केन्द्रिय अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि यमु सुब्बा शर्माले झापा जिल्ला समिति कार्यालय उद्घाटन गरेकी हुन् । उद्घाटनमा केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्लेको पनि सहभागिता रहेको थियो । मेची-महाकाली बुहारी संयुक्त आवाजको देशभरी ५२ जिल्लामा शाखा विस्तार भइसकेको उपाध्यक्ष काफ्ले आमसंचारलाई बताइन ।
२०७७ साउन २१ गते स्थापना भएर बुहारीहरूलाई सङ्गठित गर्दै उनीहरूका समस्या समाधानका लागि सामाजिक र कानुनी प्रक्रियाबाट पीडित बुहारीहरूलाई न्याय दिलाउने काममा लागि पर्दै आएको मेची-महाकाली बुहारी संयुक्त आवाजमा हाल सम्म देश भरिबाट १८ हजार बुहारीहरू सङ्गठित भइसकेको केन्द्रिय अध्यक्ष सुब्बाले बताइन ।

संस्थाकी झापा संयोजक सीखा खड्का गणेशको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा कोषाध्यक्ष परु सुवेदीले स्वागत गरेकी थिइन ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष शर्मा र उपाध्यक्ष काफ्लेलाई स्वागत सहित सम्मान गरिएको थियो । उनीहरूलाई झापा शाखा, उपशाखा दमक र भद्रपुरको तर्फबाट सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा दमक उपशाखा सचिव रिना चेम्जोङ राई, संस्थाका केन्द्रिय सल्लाहकार सूर्यहरी मरहठ्ठा गायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसै अवसरमा ७० जना भन्दा बढी आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको थियो भने कार्यक्रमको सञ्चालन झापा शाखा उपाध्यक्ष गङ्गा भट्टराईले गरेकी थिइन ।