


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विन्दाबासिनी कंसाकार प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्। रास्वपाले गरेको पत्राचार अनुसार निर्वाचन आयोगले कंसाकारलाई सांसद बनाएको हो।
निर्वाचन आयोग राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले कंसाकारलाई सांसद बनाउन गरिएको पत्राचार अनुसार नियुक्त गरिएको जानकारी दिए।
निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेको उनले बताए। उनले आइतबार सांसदमा निर्वाचित भएको प्रमाणपत्र बुझिसकेकी छन्। आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाएको छ।

रास्वपाले सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेपछि उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन आयोगमा सिफारिस गरेको थियो। श्रेष्ठ भने अन्याय भएको भन्दै अदालत गएका छन्।
सोमबार रिटमा सुनुवाइ गर्दै अदालतले कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।