Aamsanchar

छात्राहरुलाई नियमित विद्यालयमा उपस्थित गराउन सेनेटरी प्याड वितरण 

Author Image
मङ्गलवार, वैशाख २६, २०८०

 

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको जनजागृति मावि लमडरुवाका विद्यार्थीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ३ सय छात्राहरूलाई सनेटरी प्याड वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको हो । केन्द्रका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको सामाजिक कार्यहरूको बारेमा जानकार भएको भन्दै विद्यालयलाई सम्झिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सर्जिकल प्याड भन्दा स्थानीय उत्पादन प्याड धेरै गुणस्तरीय भएको भन्दै यसलाई सबै विद्यालयमा पुर्‍याउन अनुरोध गर्नुभयो । छात्राहरूमा महिनावारी हुँदा विद्यालय छाड्ने समस्या अझै धेरै विद्यालयमा भएको भन्दै उहाँले यस समस्या समाधानका लागी यस अभियानले सहजता प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरीले संस्थाले महिलाहरूको सामाजिक एवं आर्थिक सशक्तीकरण र बालबालिकाहरूको शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बताउँदै छात्राहरूलाई महिनावारीको समयमा हुने समस्या समाधानका लागी अभियान कै रुपमा निशुल्क सेनेटरी प्याड वितरण गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको अन्य विकासका लागी संस्थाले विद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सेनेटरी प्याड पाएसँगै छात्रा अञ्जली रसाइलीले आफूहरूलाई पुनः प्रयोग गर्न मिल्ने प्याड पाएकोमा खुसी व्यक्त गर्दै यसले आफूहरूलाई महिनावारी भएको समयमा सहज हुने बताउनुभयो । उहाँले सर्जिकल प्याड भन्दा स्थानीय उद्योगमा उत्पादन भएको पुनः प्रयोग गर्न मिल्ने प्याड स्वास्थ्यका लागी र आर्थिक हिसाबले सजिलो भएको उहाँको भनाई थियो । अर्का छात्रा श्रृष्टी वलीले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई निशुल्क रुपमा प्याड सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदै आफूहरूलाई सहज हुने बताउनुभयो ।

त्यस अवसरमा विद्यालयमा अध्ययनरत ३ सय बढि छात्राहरूलाई महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको थियो । कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर। के।शीतलले संस्थागत जानकारी दिनुभएको थियो भने प्याड प्रयोगबारे संस्थाका मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक बुद्धिराम शर्माले गर्नुभएको थियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)