Aamsanchar

चिया क्षेत्रको समस्या सम्बोधन गर्नेगरी बजेट बनाउन प्रदेश सरकारलाई सुझाव

Author Image
बिहिवार, वैशाख २८, २०८०


बिर्तामोड । कोशी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रको समस्या सम्बोधन गर्न सरोकारवालाले जोड दिएका छन् ।
प्रदेशकै प्रमुख आर्थिक क्षेत्रको रुपमा रहेको चिया क्षेत्रलाई विशेष क्षेत्र मानेर नीति तथा कार्यक्रम तय गर्न सरोकारवालाको सुझाव छ । करिब ७० हजारलाई रोजगारी सिर्जना गर्न सफल चिया क्षेत्रले प्रदेशको आर्थिक विकास र विदेशी मुद्रा आर्जनमा मुख्य भूमिका निर्वाह गर्दै आएको उनीहरुको भनाई छ । संवाद समूह झापाको संयोजनमा आज बिहीबार बिहान बिर्तामोडमा सम्पन्न छलफलमा प्रदेशसभा सदस्य चिन्तन पाठकले चिया क्षेत्रका समस्या पहिचान गरी समाधानमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे ।

उनले चिया क्षेत्र कोशी प्रदेशको पहिचान र आर्थिक विकासको हिसाबले मुख्य बालीको रुपमा रहेकाले चियामा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार चासोपूर्वक अघि बढ्नुपर्ने बताए । उनले चिया उद्योगी, किसान र श्रमिक सबै क्षेत्रको हित हुनेगरी प्रदेश सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरे । उनले यसका लागि आफूहरु पनि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउने कार्यमा जुटिरहेको धारणा राखे ।
नेकपा एमालेका जिल्ला सचिव शिव ढुंगेलले चिया क्षेत्रका समस्या दीगो रुपमा समाधान हुने गरी सम्बोधन गर्न माग गरे । उनले प्रदेशमै ठूलो संख्यामा श्रमिकलाई रोजगारी दिएको तथा प्रदेशको आर्थिक मेरुदण्डको रुपमा चिया क्षेत्र रहेको धारणा राखे । उनले चिया क्षेत्रको विकास र विस्तार गर्न सके प्रदेशको उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रमा धेरै समस्या भएपनि प्राथमिकताका आधारमा सम्बोधन गर्न प्रदेश सरकारलाई सुझाव दिए । उनले पहिलो चरणमा उद्योगी, किसान र श्रमिकलाई प्रोत्सहान तथा सामाजिक सुरक्षा हुने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने धारणा राखे । नेपाल सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेल्नुपर्ने सुझाव राखे । साथै, गुणस्तरीय चिया उत्पादन तथा चिया निर्यातको परिमाणलाई वृद्धि गर्नेगरी कृषकलाई प्रोत्सहान गर्ने कार्यक्रम बनाउन उनको सुझाव छ ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भूपाल सापकोटा, फापुनका संयोजक सन्तकुमार राई, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका प्रदेश अध्यक्ष हर्कजंग थुङ्गिम, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष जग्गनाथ पौडेल, चिया प्राविधिक अनन्त ढुंगाना, गोपाल गुरुङलगायतले प्रदेश सरकारले श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा सहयोग गर्नुपर्ने माग राखे ।

सोही कार्यक्रममा प्रदेशसभा सदस्य पाठकलाई संवाद समूहले सम्मान गरेको छ । संवाद समूहको सदस्य समेत रहेका पाठक प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सम्मान पत्रसहित सम्मान गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर