Aamsanchar

प्लेयर अफ द म्याच सूर्यकुमार यादवले आफ्नो आईपीएल करियरको पहिलो शतक बनाए

Author Image
शनिवार, वैशाख ३०, २०८०

मुम्बई । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा शुक्रबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स (जीटी) लाई २७ रनले पराजित गरेको छ । प्लेयर अफ द म्याच सूर्यकुमार यादवले आफ्नो आईपीएल करियरको पहिलो शतक बनाए । उनको इनिङ्सका कारण एमआई अंक तालिकाको ३ नम्बरमा पुगेको छ ।

वानखेडे स्टेडियममा गुजरातले टस जितेर बलिङ रोजेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको मुम्बईका इशान किशन (३१ रन) र कप्तान रोहित शर्मा (२९ रन) ले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात गराए । तेस्रो नम्बरमा खेल्न आएका सूर्यकुमार यादवले अविजित १०३ रन बनाए । विष्णु विनोदले ३० रनको योगदान दिए । गुजरातका लागि राशिद खानले ४ विकेट लिए । मोहित शर्माले एक विकेट लिए ।

२१९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । टोलीले २६ रनमा तीन विकेट गुमाएको थियो । ओपनर ऋद्धिमान साह २, शुभमन गिल ६ र कप्तान हार्दिक पाण्ड्या ४ रन बनाएर आउट भए । विजय शंकरले २९ र डेभिड मिलरले ४१ रनको योगदान दिए । राशिद खानले ३२ बलमा ७९ रन बनाएर जितको अन्तर घटाए । राशिदले अल्जारी जोसेफसँग ४० बलमा अविजित ८८ रनको साझेदारी गरे।

मुम्बईसँग पराजित भएपछि तालिकाको शीर्ष स्थानमा रहेको गुजरातको प्लेअफमा पुग्नको लागि पर्खाइ केही समय थपिएको छ । लिग चरणका ५७ खेल खेलिएका छन् । प्रतियोगिताका बाँकी १३ खेलले प्लेअफका लागि १० मध्ये ४ टोलीको निर्णय गर्नेछ । अहिलेसम्म कुनै पनि टोली छनोट हुने दौडबाट बाहिरिएको छैन ।

गुजरात टाइटन्सलाई २७ रनले हराएपछि मुम्बई इन्डियन्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको १२ खेलमा ७ जित र ५ हारपछि १४ अंक छ । प्लेअफमा सिधै छनोट हुनका लागि अब मुम्बईले बाँकी दुवै खेल जित्नुपर्नेछ।

मुम्बईसँगको हारपछि पनि गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा छ । उसको १२ खेलबाट ८ जित र ४ हारसहित १६ अंक छ। उसले हैदरावाद र बैंगलोरसँग २ खेल खेल्न बाँकी छ । २ खेल मध्ये एउटा पनि जित्यो भने टोली प्लेअफमा पुग्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर