


काठमाडौं । लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ।
शुक्रबार (हिजो) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो।
देशका विभिन्न जिल्लाबाट काठमाडौं पुग्ने बस कलङ्कीमा नै यात्रु चढाउन र ओराल्ने गर्नाले त्यहाँको यातायात आवगमननै प्रभावित हुँदै आएको छ । त्यस्तै कोटेश्वर, गौशालामा पनि उस्तै समस्या हुँदै आएको छ । उता बसपार्क भने खाली नै रहँदै आएको छ । अब गोङ्गबुस्थित नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँमा यात्रु चढाउन र ओराल्न पाइने छैन।
महानगरका अनुसार काठमाडौंमा दैनिक करिब सात सय सङ्ख्यामा सवारीसाधन प्रवेश गर्छन्। यही सङ्ख्यामा बाहिरिन्छन्। नयाँ बसपार्कको ७५० वटा सवारीसाधन व्यवस्थापन गर्ने क्षमता छ।

बसपार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ।
समितिको सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, बसपार्क सञ्चालक कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रा।लि। र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य छन्।
बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय पनि गरेको छ। अहिले गौशाला, चाबहिल, सुन्धारा लगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारीसाधनका टिकट काउन्टर छन्।
बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौं, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधि उपस्थित थिए।