Aamsanchar

फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा मुखिया निर्विरोध

Author Image
शनिवार, वैशाख ३०, २०८०

बिर्तामोड – नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा भएको महासंघको अधिवेशनबाट मुखिया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) र हिमाल खरेलले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएसँगै मुखिया सर्वसम्मत अध्यक्ष चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाले जानकारी दिए । बिर्तामोड-२ स्थित बालुवाटार रिसाेर्टमा  भएको महासंघको दोस्रो अधिवेशनबाट मुखियाकाे नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन भएको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, सचिव नरेश खरेल, सहसचिव भारती राई र कोषाध्यक्षमा शरद जोशी चयन भएका छन् ।

त्यस्तै सदस्यहरु लोकेश अधिकारी, विगम श्रेष्ठ, विष्णु श्रेष्ठ र दिपेन्द्र कटुवाल चयन भएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खट्नु हुने अन्य पदाधिकारी तथा सदस्यका साथै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष मुखियाले निर्वाचन मण्डललाई धन्यवाद दिए । निर्वाचन मण्डलमा संयोजक निरौलासहित पुष्प खड्का र भुमिका सुब्बा रहेका थिए । मुखियाले आफुलाई इलामबाट झापा ल्याएर यो स्थानसम्म पुर्याउनुहुने आफ्ना स्वर्गीय दाजु काजीमान मुखियाको स्मृतिमा फोटो पत्रकारीता पुरस्कार स्थापना गर्ने घोषणा गरे ।

महासंघले साधारणसभा हुनुभन्दा अघि फोटो पत्रकारिता तालिमसमेत आयोजना गरेको थियो । पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले फोटोको माध्यमबाट समाज रुपान्तरणका लागि सन्देश दिन सकिने बताइन् ।

कार्यक्रममा प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नारी सञ्चार गृह झापा अध्यक्ष रेजिना रोदन, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाललगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिर्तामोड-२ का वडाध्यक्ष किशोर पौडेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सदस्य अमित खम्बुले स्वागत गरेको कार्यक्रम सचिव विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)