Aamsanchar

बिर्तामोडमा पहिलो पटक रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने, उद्घाटनमा कुटुम्ब ब्याण्ड

Author Image
आइतवार, वैशाख ३१, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट खेल प्रतियोगिता हुने भएको छ ।

जेठ ६ गते देखि वडा नम्बर ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा सुपर सिक्स क्रिकेट प्रतियोगिताको अन्तिम फाइनल खेल जेठ ७ गते राती सञ्चालन हुने आज बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो  ।  आयोजकको भनाइ अनुसार बिर्तामोडमा पहिलो पटक रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुन लागको हो ।  प्रतियोगितामा नगर क्षेत्र भित्रका  १७ वटा खेलाडी समूहले सहभागी जनाउन नाम दर्ता गरिसकेको र अझै दर्ता खुला रहेको कार्यक्रम संयोजक वेदप्रकाश अग्रवाल (बिशाल) ले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार एक १ लाख रुपैयाँ र दोश्रो पुरस्कार ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ । खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार, वेस्ट ब्याट्स म्यान र बेष्ट बलरलाई ५ हजार १०० सय रुपैयाँ त्यसैगरी  प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार १०० सय रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगितामा हिट बोर्डको व्यवस्था गरि विभिन्न प्रकारको आकर्षक पुरस्कार राखिने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष बिकास गिरीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५४ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । जस मध्ये ७ लाख रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने भएको छ ।  अन्य खर्चको व्यवस्थापन दाता, प्रायोजकबाट गरिने अध्यक्ष गिरीले आमसंचारलाई बताए ।

दैनिक जीवनमा बढ्दै गएको व्यस्तता र चर्को घाम गर्मीको कारण फाइनल खेल राती सञ्चालन गर्ने तयारी गरिएको र उक्त दिन बिर्तामोड निवासी राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने सचिव बिसन लिम्बुले जानकारी दिएका छन्  ।

प्रतियोगिता फाईनलको उद्घाटन सत्रमा चर्चित कुटुम्ब ब्याण्डको प्रस्तुती रहने र प्रतियोगिता पब्लिक प्रोजेक्ट पार्टनर सीपको अवधारणा अनुसार आयोजना हुने बताइएको छ ।

प्रतियोगिताको हस्पिटालिटी पार्टनरको रुपमा होटल ग्रान्ड प्यासिफिक, स्पोन्सरको रुपमा गरिमा मल्टिपर्पोज प्रालि, ॐ कास्टिङ उद्योग प्रा। लि लगायत रहेका छन् ।
हाल नेपालमा क्रिकेट खेलले निक्कै चर्चा र व्यापकता पाइरहेको अवस्थामा बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गर्ने स्थानीय स्तरको प्रतियोगितामा सहभागी क्लबको तर्फबाट राष्ट्रिय स्तरमा खेलिरहेका केही खेलाडीहरूले पनि सहभागिता जनाउने खबर पाएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर