Aamsanchar

अमेरिकी साम्राज्यवादका विरुद्ध जनमोर्चाकाे ‘मेची-महाकाली अभियान’ सुरु

Author Image
मङ्गलवार, जेठ २, २०८०

बागलुङ : राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची-महाकाली अभियान’ बागलुङबाट सुरु गरेको छ।

केन्द्रीय कार्यक्रम अन्तर्गत पहिलो दिन बागलुङमा कार्यक्रमसहित अभियान थालिएको हो। जनमोर्चाले अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतरा देखिएकोले जनजागरण अभियान सञ्चालन गर्नुपरेको जनमोर्चाले जनाएको छ।

सोमबार अभियानको उद्घाटन गर्दै राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले अमेरिकाले सुष्क्ष अध्ययनको लागि संसदमा राजनीतिक दल मार्फत प्रवेश गरेको बताए। उनले गणतन्त्रका लागि लडेका पुस्तालाई बदनाम गरेर निरंकुशता भित्राउने खेल भएमा हुन नदिने गरी लड्न चाहेको बताए।

राज्यको कमजोर अवस्थामा अमेरीकी साम्राज्यवाद संसदमा पुग्ने कोशिस गरेको अधिकारीको भनाइ छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको माध्यमबाट अमेरीकी साम्राज्यवाद संसदमा पुगेको आरोप लगाए।

अधिकारीले अमेरिकाले नेपाललाई प्रयोग गरेर चीनमा आक्रमण गर्ने तयारी गरिरहेको बताए। ‘अमेरिकाले नेपालमा एउटा दीर्घकालीन योजनाअनुसार काम गरिरहेको छ,’ अधिकारीले भने, ‘अमेरिकाको अहिलेको मुख्य उद्देश्य नेपाललाई त्यसको इण्डोप्यासिफिक रणनीतिअन्तर्गत ल्याउनु हो। त्यो रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरुद्धको  युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु हो।’

उनले सरकारले हाल सञ्चालन गरेको भ्रष्टाचार बिरुद्धको अभियानमा साथ दिने बताए। तर, उनले गणतन्त्रका लागि लडेका पुस्तालाई बदनाम गरेर निरंकुशता भित्राउने खेल भएमा हुन नदिने गरी लड्न चाहेको बताए। ‘राजतन्त्रभन्दा गणतन्त्र राम्रो हो, तर अझै हामी यहाँ सन्तुष्ट हुने होइन’ उनले भने, ‘इसाइकरण र विभिन्न नारा दिएर राजनीतिक आवरणमा पसेका अमेरिकीबिरुद्ध आवाज उठाउनु पर्छ।’

राजमोले अभियान जेठ १ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने बताएको छ। अभियानका लागि अधिकारी नेतृत्वले बागलुङबाट पर्वत, पोखरा, नवलपुर, चितवन, पालुङटार हुँदै मनवानपुर पुग्ने योजना बनाएको छ।

यस्तै हिमलाल पुरीको नेतृत्वको टोलीले बारादेखि पर्सा, रौतहट,  सर्लाही, सिरहा, विराटनगर, इटहरी, सुनसरी, झापा, सिन्धुली, बनेपा, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौंमा कार्यक्रम गर्नेछ।

केन्द्रीय महासचिव मनोज भट्ट नेतृत्वको टोलीले महेन्द्रनगरबाट बेलौरी, धनगढी, अत्तरिया, दिपायल, डडेलधुरा, डोटी, गुलरिया, बर्दिया, बाँके, नेपालगञ्ज, सुर्खेतमा कार्यक्रम गर्नेछ।

दुर्गा पौडेल नेतृत्वले तुलसीपुर, दाङ, प्युठान, अर्घाखाँची, कपिलबस्तु, वुटवल, पाल्पा, गुल्मी, सुनवल, तानसेन लगायतको स्थानमा कार्यक्रम गर्नेछ। जेठ १५ गते सबैको साझा कार्यक्रम काठमाण्डौंमा गर्ने योजना बनेको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष राजेन्द्र ढुंगानाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर