मेचीनगर । सामुदायिक वन क्षेत्रको सवैभन्दा ठूलो चूनौती जंगली हात्ती आतंक रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर, नगर महासंघका अनुसार सातवटा चुनौती मध्ये जंगली हात्तीको आतंक निक्कै ठूलो चुनौतीका रुपमा पहिलो स्थानमा रहेको छ । मेचीनगर महासंघमा १३ वटा सामुदायिक वनहरु आबद्घता र क्रियाशील रहेका छन् । १३ वटामध्ये बाँसबारी र महिला सुजना सामुदायिक वन दुईवटामात्र महिलाको नेतृत्वमा छ । यी नगरभित्र रहेका वनले कुल २ हजार ३२ दशमलव १७ प्रतिशत हेक्टर वन क्षेत्रफल ओगटेको छ ।
महासंघमा आबद्घ भएका सामुदायिक वनहरुले नगरक्षेत्रभित्र पर्या—पर्यटनमा निक्कै ठुलो योगदान गरेपनि वन नीति (हुभर फर्मुला अहिलेको नयाँ काठ मापन विधी), वन डढेलो। चोरी निकासी तथा तस्करी, जलवायु परिवर्तनका असरहरु, वन्यजन्तुले क्षति पुर्याएका बालीनालीमा दिने राहतमा ढिलासुस्ती, सामुदायिक वनमा चुरेक्षेत्रबाट ढुङ्गा, गिटी वालुवाको दोहन नगरमा रहेका सामुदायिक वनको क्षेत्रमा देखिएका मुख्यः चुनौती रहेको मेचीनगर महासंघ अध्यक्ष जानुका न्यौपाने ओलीले जानकारी दिनुभयो ।
मेचीनगरमा रहेका कालिका सामुदायिक वनको कालिका सिमसार, बाँसबारी सामुदायिक वनको बाँसबारी सिमसार, मागुमाडी सामुदायिक वनको मागुरमाडी सिमसार, खुट्टीडाँगी सामुदायिक वनको खुट्टीडाँगी सिमसार, हातेमालो सामुदायिक वनको निचाझोडा सिमसार, प्रगति सामुदायिक वनको कालीखोला सिमसारले पर्या—पर्यटनमा निक्कै ठुलो भूमिका खेलेको अध्यक्ष ओलीको भनाई छ । सिमसार बाहेक पर्या—यर्पटनमा थोप्लेबिरान सामुदायिक वन र तेलपानीको सामुदायिक वन बृन्दावनकारुपमा अगाडी बढिरहेको उहाँको भनाई छ ।
सामुदायिक वनमा लगाइएको तेहेरो कर फिर्ता हुनु, पान नम्बर सहजरुपमा प्राप्त गर्नु,दिगो वन ब्यवस्थापनको कार्यक्रम अघि बढ्नु, जलवायु परिवर्तनको असरलाई न्यनिकरण गर्न अनुकूलनका योजनाहरु तयार गर्नु, सामुदायिक वनहरु पर्या—पर्यटन उद्यममा अगाडी बढ्नु, वनक्षेत्रभित्र वन्यजन्तुका लागि खाद्य आहार, बास, केरा रोपण, र पिउने पानीको निम्ती पोखरीहरुको संरक्षण गर्नु, वनक्षेत्रमा डिपिआर तयार गरेर सोलार फेन्सिङ्गमार्फत जंगली हात्तीको क्षति रोकथामको निम्ती ७५ किलो मिटर डिपिआर भएकोमा मेचीनगरको बाँसबारी, मागुरमाडी बिट नम्बर १ र २, थोप्लेबिरानसामुदायिक वनक्षेत्रमा फेन्सिङ्ग गरी गाउँक्षेत्रमा हात्ती प्रवेशका निम्ती रोक लगाउनुलाई महासंघ मेचीनगरले निक्कै ठूलो उपलब्धिकारुपमा लिइएको छ । तर, मेचीनगरका धेरै सामुदायिक वन श्रोत विहीन भएकाले सञ्चालनमा समस्या आउने गरेको छ ।
भिमसेन कृष्णथुम्की, महिला सुजना, दुधेचौरी र खुट्टीडाँगी सामुदायिक वन श्रोत विहीन रहेका छन् । त्यसमा पनि खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूह शहरको टुक्रे वनको रुपमा रहेपनि पर्यापर्यटनकाक्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यष ओलीको भनाई छ । सो वनको वार्षिक कटान क्षमता २ सय ५१ क्यूफिट मात्र रहेको र उपभोक्ता भने ३ सय ५० जना रहेका छन् । सो सामुदायिक वनलाई श्रोत भएका समूहहरुले वन पैदावारमा सहयोग गरेर वनको व्यवस्थापनमा टेवा पुग्ने उहाँ बताउनुहुन्छ ।