Aamsanchar

शनिश्चरेको पितृ मोक्ष भवनमा भविष्य महापुराण आयोजना हुने 

Author Image
बुधवार, जेठ ३, २०८०

शनिश्चरे ।  झापाको अर्जुनधारा नगरपालिका–७ रामपथ मार्गमा रहेको सामूहिक उद्धार तथा उपकार संघ  ( पितृ मोक्ष भवन ) को आयोजनामा भविष्य महापुराण आयोजना हुने भएको छ ।
जेठ ५ गते सुरु भई १२ गते समापन हुने सप्ताह महापुराण आयोजनाको सम्पूर्ण तयारी पुरा भएको आज पितृ भवन ( कार्यक्रम स्थल) मा आयोजित  पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

सम्पूर्ण जातजाति ओमकार परिवारका पितृहरूको मोक्ष कामनार्थ र अखण्ड मोक्ष द्वीप स्थापना स्थल निर्माण गर्ने लक्षका साथ छैटौँ अनुष्ठानको रुपमा भविष्य महापुराण आयोजना गर्न लागिएको पुराण संयोजक मनोज जोशीले बताए ।
पुराणको मुख्य बाचक भागवत भूषण उद्धव शास्त्री र उपवाचन शास्त्री घनश्याम काफ्लेले गर्ने भएका छन्  ।

१ कठ्ठा ५ धुर क्षेत्रफल रहेको स्थानमा यस अघि आयोजना भएका पुराण र दाताहरूको सहयोगमा दुई तले भवन निर्माण सम्पन्न भएको छ । अबको एक वर्ष भित्र  द्वीप प्रज्ज्वलन स्थल निर्माणको लागि १० धुर जग्गा खरिद र अखण्ड द्वीप बाल्ने ठाउँ तयार पार्ने लक्ष्य रहेको संयोजक जोशीले  जानकारी दिए । जग्गा खरिदका लागि १८ लाख रुपैयाँ लाग्ने समितिले अनुमान गरेको छ ।

जेठ ५ गते शनि जयन्तीको शुभसाइतमा पुराण शुभारम्भ हुने भएकाले धार्मिक मान्यता अनुसार यो पुराण बढी फलदाई हुने आयोजकले दावी गरेको छ ।

पुराण आयोजनाको लागि विभिन्न ९ वटा उपसमितिहरू गठन गरिएको छ । पुराण अवधि भित्र संस्थापकहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको आयोजक समितिका अध्यक्ष जर्नादन उप्रेतीले बताए ।

पवित्र आत्माहरूको पवित्र सोचबाट मृतकको घरमा कात्रोको अभावले लास उठाउन कठिन अवस्थामा रहँदा लास उठाउने व्यवस्थाबाट सुरु भएको सामूहिक उद्धार तथा उपकार संघले २०५५ सालमा आपतकालीन अवस्थामा लास उठाउन कात्रोको व्यवस्थापनका लागि समुदाय भित्र रु। १० रुपैयाँ सहयोग संकलन अभियान सुरु गरेको थियो । हाल यस संघले प्रति परिवार ५० रुपैयाँ संकलन गर्दै आएको छ ।

संस्थाको २ तले पितृ मोक्ष भवनमा न्यनतम सशुल्क उत्सव, तालिम, बैठक तथा अन्य प्रयोजनमा हल तथा कोठाहरू उपलब्ध गराउँदै आएको छ । संस्थामा रहेका भौतिक सामानहरू सदस्य परिवारमा भएको मरिमराउ मा निःशुल्क र अन्य कार्यक्रमहरूमा सशुल्क उपलब्ध गराउँदै आएको छ ।

जीवन र जगतलाई मध्यनजर राखी मृत्यु सत्य हो, यसलाई टारेर टर्दैन । एकदिने सबैले मृत्युलाई अँगाल्नै पर्छ । बाँचुन्जेल हामी सबै भुलभुलैयामा हुन्छौं । समाज भोक र रोगले ग्रस्त छ। बालबालिकालाई शिक्षा छैन, युवायुवतीलाई रोजगार छैन् । यस विषयलाई मध्य नजर गर्नु समाजको कर्तव्य हो । मानव कल्याणका साथै संस्था सबैको सम्पति हो भन्ने मुल मन्त्रलाई मध्यनजर गर्दै विशेषतः निम्न वर्गका घरपरिवारलाई सामाजिक रुपमा पुनरुत्थान गर्ने काम सङ्घबाट हुदै आएको संस्थाका सचिव मिलन मोक्तानले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर