Aamsanchar

ओलीले भने : सरकार सर्पको मुखको भ्यागुतो जस्तो, कांग्रेस हावा न चावा

Author Image
बुधवार, जेठ ३, २०८०

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्तै गम्भीर र जटिल भए पनि सत्ताधारी दलहरुले सामान्य रुपमा लिइरहेको उल्लेख गरेका छन्।

मदन–आश्रित स्मृति दिवसको अवसरमा बुधबार बल्खुको मदननगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तागठबन्धन नीति, उदेश्य र गन्तब्यविहिन रहेको टिप्पणी गरे।

अहिलेको राजनीतिलाई सत्ताधारी गठबन्धनले हल्काफुल्का रूपमा लिनु गम्भीर विषय भएको बताए। देश गम्भीर परिस्थितिमा हुँदा पनि लामो इतिहास बोकेको नेपाली कांग्रेस भोलि उठी कहाँ जाने परिस्थितिमा रहेको भन्दै उनले  कांग्रेसलाई हावा न चावाको पार्टी भएको आरोप लगाए। कांग्रेस सत्ताका निम्ति जे पनि गर्न तयार भएको उनको टिप्पणी थियो।

एमाले सत्ता स्वार्थको लागि मात्र नमिल्ने भन्दै ओलीले देश, जनता, परिवर्तन र सुशासनको लागि एमाले कुनै पनि शक्तिसँग मिल्न सक्ने प्रष्ट पारे। अहिलेको गठबन्धन सत्ताको लागि मात्र बनेको सरकारी गठबन्धन भएको उनको दाबी छ।

अहिलेको सरकार राजनीति अस्थिरता र अराजकतामा अल्झिएको ओलीको भनाइछ। उनले यो सरकार सरकार सर्पको मुखमा परेको भ्यागुतो जस्तो भएको भन्दै संकट नै संकटले घेरिएको अवस्थामा रहेको बताए।  देशको आर्थिक, सामाजिक अवस्था बिग्रिएको र भत्किएको उनको भनाइ छ । समाज बिथोलिएको स्थितिमा  पुगेको ओलीको भनाइ छ।

अध्यक्ष ओलीले मदन भण्डारीको सपना अधुरै रहेको भन्दै उनको समृद्ध नेपाल निमार्णको सपना पुरा गर्न जस्तो सुकै चुनौती भएपछि एमाले सफल हुने दाबी गरे। मदन भण्डारी र एमालेले देखेको सपना पूरा हुन नदिन विरोधी शक्ति लागेका भन्दै देश बनाउने सपना पूरा गर्न एउटा सङ्कल्पका साथ संगठित भएर लाग्नु पर्नेमा ओलीले जोड थियो।

Views: 221

प्रतिक्रिया (०)