Aamsanchar

बिर्तामोडमा २९ जना कुष्ठरोगी पहिचान, १० नम्बर वडामा धेरै रोगी 

Author Image
बिहिवार, जेठ ४, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज बिहीबार बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा बालकालिका ४ जना रहेका छन् । कात्तिक महिना यता बिर्तामोड नगर अस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । शंकास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।
कुष्टरोगका कारण बिर्तामोडमा ६ जना अपांगतासमेत भएका छन् । यस्तै १ जनामा कुष्ठरोग पुन बल्झिएको जनाइएको छ । अन्य वडाको तुलनामा बिर्तामोड १० मा कुष्ठरोगीको संख्या बढी रहेको सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दीपक सापकोटाले जानकारी दिए । यस वडामा कुष्ठरोगीको संख्या ९ रहेको छ ।

कुष्ठरोगको जोखिममा रहेको १० नम्बर वडामा रोग पहिचानका लागि घर घरमा तालिम प्राप्त स्वास्थ्यकर्मी पठाइने भएको छ । अभियानकै रुपमा जेठ ६ गतेदेखि १० गतेसम्म कुष्ठरोगको शंकास्पद लक्षण भएका बिरामी खोजी गर्ने अभियानको तयारी रहेको सापकोटाले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोग नियन्त्रणका लागि समुदाय स्तरमा डटेर लाग्न निर्देशन भएको छ । बिर्तामोडलाई कुष्ठ रोगमुक्त नगरपालिका घोषणा गर्ने गरि काम गर्न जोड दिँदै उनले नगरलाई क्षयरोग, कुष्ठरोग लगायतका रोगहरू मुक्त बनाउनु पर्ने धारणा राखेकी छन् ।

यस्तै सर्ने रोगहरूको क्षेत्रमा काम गर्दै आएको संस्था एनएलएफका राष्ट्रिय निर्देशक एन्डु सिथ्लिंगले पालिकाको प्रत्येक विद्यालयलाई माध्यम बनाएर कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरू गर्नु पर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै एनएलएफ दीपक घिमिरेले झापामा अहिले प्रति दश हजार जनसंख्यामा २ जना भन्दा बढीलाई कुष्ठरोग देखा पर्ने गरेको जानकारी दिए । उनले बिर्तामोडमा प्रति वर्ष २० जना नयाँ बिरामी उपचारमा आउने गरेको पनि बताए ।

अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य यमुना आचार्य, लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर