


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जाने भएका छन्।
सडक अवरोध हुने र नागरिकले सास्ती पाउने भन्दै उनले त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
राष्ट्रपतिमा निर्वाचित भएसँगै सडक खाली गराएरै हिँड्ने परम्परालाई राष्ट्रपति पौडेलले सच्याउँदै आएका छन्। यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादवको पालामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा र अन्य सरकारी कार्यक्रममा सहभागी हुँदा सडक जाम गरिएको र नागरिकले सास्ती पाएको भन्दै चर्को आलोचना हुने गरेको थियो।

तर, सुरक्षा निकायले भने अतिविशिष्टहरुको सुरक्षा प्रोटोकलका कारण सडक खाली गराउने गरिएको दाबी गर्दै आएको थियो। आज संसद् भवनबाट राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।