बिर्तामोड । झापाको मुख्य व्यापाlरक सहर बिर्तामोडमा टाटा मोटर्सको नयाँ मोडलको विद्युतीय गाडी नेक्सन इभी म्याक्स सार्वजनिक गरिएको छ ।
आज (शुक्रबार) एक औपचारिक कार्यक्रम आयोजना गरेर नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटाको नेक्सन इभी म्याक्स बिर्तामोड स्थित अलास्का अटोमोवाइलमा सार्वजनिक गरेको हो ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्त जंग सिजापती र टाटा मोटर्सका तर्फबाट नेपालका लागि कन्ट्रिम्यानेजर प्रशन्न रंगनाथनको उपस्थिति रहेको थियो ।
यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरूप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको बिर्तामोडमा विक्री वितरण शुभारम्भ गरेको छ । कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नँया गाडी ७.२ किलोबाट चार्जिङ्गको व्यवस्था सहित रु.४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध हुने महाप्रबन्धक सावन्त जंग सिजापतीले बताए ।
उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइ पुर्याउने अपेक्षा गरिएको छ । उच्च भोल्टेजको उच्चतम् जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीनवटा आकर्षक रङ्गहरूमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध रहेको कन्ट्रि म्यानेजर रंगनाथनले बताए ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथियम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरू भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झन्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले ११० किलोबाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व रहेको अलास्का अटोमोबाइलका प्रबन्धन निर्देशक प्रकाश शिवाकोटीले बताए ।
कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पनि उपस्थिति रहेको थियो ।