Aamsanchar

कोशी प्रदेश पर्यटन प्रचारका लागि भारतका तिन सहरमा बीटुबी बिजिनेस टु बिजिनेस कार्यक्रम हुने

Author Image
आइतवार, जेठ ७, २०८०

बिर्तामोड ।  कोशी प्रदेशमा रहेको पर्यटन क्षेत्रहरूको प्रचार गर्ने उद्देश्यले नेपाल-भारत  बीटुबी बिजिनेस टु बिजिनेस कार्यक्रम लिएर नेपाल टुरिजम बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको नेतृत्व सहितको टोली भारतको प्रमुख तीनवटा सहर मा प्रस्थान गर्ने भएको छ ।

बीटुबी बिजिनेस टु बिजिनेस कार्यक्रम अन्तरगत भारतको पश्चिम वंगालको सिलिगुडी, असामको गुहाटी, मेघालयको सिंगोङ सहरमा जेठ ८ गते देखि १३ गते सम्म विभिन्न प्रचारका कार्यक्रम लिएर जाने भएको हो ।

नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सह आयोजनामा नेपाल सेल्स मिसन इन इन्डिया कार्यक्रम गर्न लागिएको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल टुरिजम बोर्डका सेल्स एण्ड मार्केटिङ म्यानेजर सूर्य थपलियाले जानकारी दिए ।

तोकिएका भारतका शहरहरूमा ट्राभल एजेन्सी, ठूला होटलका सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग बिजनेस टु बिजनेस कार्यक्रम गरिने थपलियाले बताए ।
पर्यटन प्रचार अभियानमा पर्यटन कार्यालयका प्रतिनिधि, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका प्रतिनिधि, कोशी प्रदेशका ट्राभल एजेन्सीका सञ्चालक, पत्रकार गरी २० जनाको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

कोशी प्रदेश तथा नेपालमा बढीभन्दा वढी भारतीय पर्यटक भित्र्याउन उनीहरूलाई नेपाल घुम्न आउन प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल टुरिजम बोर्डका अधिकृत गोपाल भण्डारी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नवीन खरेल, सल्लाहकार शेखर ढकाललगायतले यस्तो कार्यक्रमबाट कोशी प्रदेश तथा नेपालमा पर्यटकीय गतिविधि बढ्नुका साथै भारतीय पर्यटकको आगमनबाट नेपाली पर्यटन व्यवसायीले आर्थिक उपार्जन गर्न सकिने बताए ।
नेपालको पर्यटन क्षेत्रमा आउने भारतीय पर्यटकहरूको संख्या उच्च रहेको छ । नेपाल टुरिजम बोर्डका अनुसार बर्षिक १७ देखि १८ लाख भारतीय पर्यटकहरू विभिन्न माध्यमबाट नेपाल आउने गरेका छन् ।
विशेष गरि भारतीय युवा पर्यटकहरूलाई नेपाल त्यसमा पनि कोशी प्रदेशमा बौलाउने प्रचार अभियान टोलीको लक्ष रहेको छ ।

कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरू
कोशी प्रदेशमा पर्यटकीय स्थलको कमी छैन । सर्वोच्च शिखर सगरमाथा लगायत मकालु, कञ्चनजङ्घा जस्ता विश्वकै अग्ला हिमाल यहाँ छन । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण पनि कोशी प्रदेश मै पर्छन् । ताप्लेजुङको पाथिभरा देवी मन्दिर, सुनसरीको वराहक्षेत्र, खोटाङको हलेसी महादेव मन्दिर जस्ता धार्मिक स्थल र उदयपुरगढी, विजयपुरगढी जस्ता ऐतिहासिक स्थल पनि छन् । तेह्रथुमको गुराँस, ह्यात्रुङ झरना, रामसार सूचीमा सूचीकृत इलामको माइपोखरी, श्रीअन्तु, कन्याम, सङ्खुवासभाको सभापोखरी र गुफापोखरी, साल्पापोखरी पर्यटकीय आकर्षणका स्थल हुन । यसबाहेक सङ्घीय सरकारले देशभरका थप एक सय नयाँ गन्तव्य स्थलको पहिचान गरी पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । यिमध्ये कोशी प्रदेशमा तिम्बुङबुङ पोखरी (ताप्लेजुङ), गुरु फाल्गुनन्द सर्किट (पाँचथर), तीनजुरे–मिल्के–जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (सङ्खुवासभा), हल्दे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), वराहपोखरी, हलेशी महादेव (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा (ओखलढुङ्गा), उदयपुरगढी (उदयपुर), सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र, केचना कवल (झापा), धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसरी) लगायत पर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर