काठमाण्डाै – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप आज साेमवारदेखि नेपालमा सुरु हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा मध्य एसिया आठ वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक नेपालले उद्घाटन खेलमा आज साेमवार किर्गिस्तानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्ड हलमा दिउँसो साढे ४ बजे हुने छ । यस्तै अहिले बिहान साढे ९ बजे उज्वेकिस्तान र श्रीलङ्का खेल्दै छन् । बङ्गलादेश र भारतको खेल दिउँसो १२ बजे हुनेछ भने माल्दिभ्स र काजकिस्तानबीचको खेल बेलुका ७ बजे हुनेछ ।
प्रतियाेगितामा नेपालले भोलि मङ्गलवार बङ्गलादेशसँग र पर्सि बुधवार १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनशिपको आयोजना गरेको थियो ।