

सुरुङ्गा –झापाको कनकाई नगर पालिकाले श्रममा लगाएका २ वालकको उद्वार गरेकोे छ।
कनकाई नगरपालिकाको नगर बाल अधिकार समितिको समन्वयमा जोखिममा रहेका २ जना बालकहरुको उद्धार गरेको हो।
गोप्य सूचनाका आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएको अन्दाजी ११ वर्षको बालक – १ र वेवारसे अवस्थामा भेटिएका अर्का पनि अन्दाजी ११ वर्षका बालक – १ गरी २ बालकहरुलाई नगरपालिकाको बालकल्याण एकाईको नेतृत्वमा बाल हेल्पलाईन १०९८‚ विराटनगर र प्रहरी सहितको संयुक्त टोलीले जेठ ८ गते उद्धार गरेको हो । वालकलाई कनकाई ५ बाट उद्वार गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो।
उद्धार गरिएका बालकहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख पोखरेलको रोहवरमा नगर बाल अधिकार समितिका अध्यक्ष तथा उपप्रमुख आशा सर्मा शिवाकोटीले अस्थायी संरक्षणका लागि बाल हेल्पलाईन १०९८‚ विराटनगरलाई हस्तान्तरण गर्नुभयो ।
जोखिममा रहेका बालबालिका भेटिए तत्कालै बाल अधिकार समितिहरु वा बाल हेल्पलाईनमा जानकारी गराउन बाल कल्याण अधिकारी उमानाथ ढकालले आग्रह गर्नुभयो ।
यतिबेला कनकाई नगरपालिका देशकै उत्कृष्ट बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बन्ने लक्ष्यका साथ क्रियाशील रुपले कार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो ।
कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०/ ८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९/०८० मा बालमैत्री घोषणाको तयारी गरेको बालस्रोत व्यक्ति प्रजेश खनालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा कनकाई वडा न ५, ६ र ८ लाई वालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो ।
वालमैत्री घोषणा गर्ने तयारी सँगै बिज्ञ बालस्रोत ब्यक्ति रुद्रमणि पोख्रेल र प्रजेश खनाल स्रोत व्यक्ति, नगरका सबै वडामा बाल क्लब गठन, वालमैत्री घोषणा गर्ने तयारीका लागि वडा–वडामा विभिन्न सचेतना मुलक तथा अन्तरक्रिया कार्यक्रम निरन्तर भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
नगर बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष , वडा वडामा सचेतना मुलक कार्यक्रम निरन्तर चलाईरहेको छ। त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न स्थानको अनुगमन, बालमैत्री नगर घोषणाका उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्र स्थापना गरी कार्य अगाडि बढाइएको, नगरका प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा घोषणा गरी कार्य गरिरहेको जनाइएको छ ।
Views: 39


