काठमाडौं : आगामी असारमा जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट (ग्लोबल क्वालिफायर)को आज सार्वजनिक भएको खेलतालिका अनुसार नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने छ।
अन्तरराष्ट्रिय क्रिकेट महासंघ (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार क्वालिफायरको पहिलो खेलमा नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र जिम्बावेबीच असार ३ गते (जुन १८) मा खेल हुनेछ। नेपालले असार ५ गते (जुन २०) मा अमेरिकासँग खेल्ने छ। असार ७ गते (जुन २२) मा वेस्ट इन्डिज खेल्नेछ र असार ९ गते (जुन २४) नेदरल्यान्ड्ससँग खेल्ने छ।
असार ३ गतेदेखि असार २४ गते (जुन १८-जुलाई ९) सम्म हुने छनोट खेलमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र वेस्ट इन्डिज गरी १० टोली सहभागी हुने छन्।
सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावेसहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई छन्।
समूह चरणमा हरेक टोलीले ४ खेल खेल्ने छन्। दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन्।
सुपर सिक्सका शीर्ष २ टोली असार २४ गते जिम्बावेको राजधानी हरारेमा हुने फाइनल खेल्ने छन् भने फाइनल पुग्ने दुवै टोलीले आगामी अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन्।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष ८ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड‚ दक्षिण अफ्रिका र अफगानिस्तान यसअघि नै विश्वकपमा पुगिसकेका छन्।