काठमाडौं : साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ।
घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियममा गएराति भएका खेलमा चेन्नाई १५ रनले विजयी भएको हो। दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ।
चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन बनायो। गुजरातका लागि ओपनर शुभमन गिलले ४२ रन बनाए। राशिद खानले ३० रन बनाउँदा। विजय शंकरले १४ रन बनाए।
चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना,रविन्द्र जडेजा र महेश थिक्सनाले समान २/२ तथा तुसारदेस पान्डेले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो। चेन्नाईका ओपनर ऋतुराज गायकवाडले ६० रनको अर्धशतकीय ईनिङ खेले। डेभोन कन्वेले ४० रन बनाए। अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७/१७ रनमा आउट भए। कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए। रविन्द्र जडेजा २२ रनमा शामीको बलमा बोल्ड भए। मोईन अली ९ रनमा अविजित रहे।
गुजरातका मोहित शर्मा र मोहम्मद सामीले समान २/२ तथा नूर अहमद,दर्शन नालकंडे र राशिद खानले समान १/१ विकेट लिए। जितसँगै चेन्नाईले फाइनलमा स्थान बनाएको छ। फाइनल खेल आगामी आइतबार हुनेछ।
पराजित गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ। गुजरातले फाइनल प्रवेशका लागि बुधबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच हुने ईलिमिनेटर खेलको विजेतासँग शुक्रबार खेल्नेछ।