Aamsanchar

रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै

Author Image
बिहिवार, जेठ ११, २०८०

काठमाण्डौ – काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति छैन । तर मच्छिन्द्रनाथको रथ यात्रा भने झण्डै एक हजार तीन सय वर्ष अघि नै सुरु भएको मानिन्छ ।

किम्वदन्तीअनुसार रथ यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए ।

औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले सजिएको भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो ।

किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् ।

मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।

भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यहिबेलादेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ ।

अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गर्दै आएका छन् ।

आज दिउँसो ३ बजे पछि राष्ट्रपति रामचन्द्र पौडेल जात्रामा उपस्थित हुनु हुनेछ । भोटो जात्राका अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।

गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथ जात्रा भोटो जात्रासँगै सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर