Aamsanchar

झापामा ९८ जनाले दुर्घटनामा ज्यान गुमाए

Author Image
सोमवार, जेठ १५, २०८०

चालु आर्थिक वर्ष २०७९/०८० को दश महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जना बालबालिकासहित ९८ जनाको ज्यान गएको छ ।  ७१ जना पुरुष, २१ जना महिला २ जना बालक र ४ जना बालिकाको ज्यान गएको हो । प्रहरीको अभिलेखलाई आधार मान्दा सबैभन्दा बढि असोज महिनामा १६ जनाले ज्यान गुमाएका छन् । असोजमा दशैँलगायतका चाडपर्व परेका कारण पनि संख्या बढि देखिएको हो । चाडपर्वमा मानिसको ओहोरदोहोर गर्ने चाप बढेका कारण र त्यस वेला सवारी दुर्घटना पनि बढि हुने गरेको हुन्छ ।

सबैभन्दा कम भदौ महिनामा ५ जनाको मृत्यु भएको छ । साउन महिनामा १२ जना कात्तिक महिनामा ९ जना मंसिर महिनामा १४ जना पुस महिनामा १२ जना माघ महिनामा ७ जना फागुन महिनामा १० जना चैत महिनामा ७ जना र बैशाख महिनामा ६ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्काले जानकारी दिनुभयो ।

अन्य सवारी साधनको तुलनामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको तथ्याङ्क प्रहरीसंगै लामै छ । प्रहरीको भनाई अनुसार झापा जिल्लामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या अन्य सवारी साधनका तुलनामा झण्डै ७०  प्रतिशत छ ।  मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउने पनि कलिलै उमेरका बढी रहेको कार्यालयले जनाएको छ । क्षमता भन्दाबढी चढ्ने अनि तीव्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई  छ ।  अझ हेलमेट नलगाई मोटरसाइकल चलाउँदा यात्रा झन जोखिम हुने गरेको छ । मोटरसाइकल चलाउँदा अनिवार्य हेलमेट लगाउनु पर्ने भएपनि अधिकांशले हेलमेट प्रयोग गर्दैनन् ।

अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ । यस्तो समस्या ग्रामीणक्षेत्रका सडकमा धेरै रहेको प्रहरीको भनाई छ । चालक अनुमति पत्र बिना सवारी चलाउन नपाइने नियम भएपनि लाइसेन्स बिना सवारी साधन चलाएका घटना पनि प्रशस्त रहेका छन् ।उनीहरु कारवाहीमा पर्ने गरेको प्रहरी बताउँछन् ।

झापाका सवारी दुर्घटनामा परेर १ सय १९ पुरुष २४ महिला ४ बालक र ५ बालिका गरी कुल १ सय ५२ जना शक्त घाईते भएका छन् भने ९ सय २९ जना सामान्य घाइते भएका छन् । कार्यालयका अनुसार ६ सय ८४ पुरुष १ सय ८६  महिला २७ बालक र ३२ बालिका सामान्य घाइते भएका हुन् ।

 

४३ हजार बढी सवारी साधनलाई कारवाही

चालु आर्थिक वर्ष २०७९/०८० को दश महिनामा कार्यालयले सवारी नियम उल्लंघन गर्ने ४३ हजार ७ सय ५० वटा सवारी साधनलाई कारवाही गरेको छ । कारवाही स्वरुप ३ करोड ३१ लाख ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्लामा सवारी नियम उल्लंघन गर्नेमा पनि सबैभन्दा बढी मोटरसाइकल नै  रहेका छन् । चालु आर्थिक बर्ष २०७९÷०८० को पहिलो  दश महिनामा जिल्लामा १४ हजार १ सय ५२ वटा मोटरसाइकलले सवारी नियम उल्लंघन गरेको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग छ । मोटरसाइकललाई कारवाही गरेर ९१ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ गर्ने, हेलमेट नलगाउने, डिजिटल हर्न बजाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने कारवाहीमा परेका हुन । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरिवाना  गरिने  कार्यालयले जनाएको छ ।  सवारी दुर्घटनामा कमी ल्याउन कार्यालयले बेला बखत जिल्लाका अलग अलग स्थानमा गरेको छड्के चेकजाँच गर्ने गर्दछ  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर