

काठमाडौं : गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’मा पत्रकार नारायण ढुंगानालाई २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।


उक्त प्रदर्शनीको उद्घाटनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पत्रकार ढुगाना राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन्।

ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरूमध्येबाट उनलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीको कार्यकारी समितिका संयोजक लालकाजी लामाले जानकारी दिए।
चितवन निवासी पत्रकार ढुंगाना विगत २० वर्षदेखि पत्रकारिता गर्दै आएका छन्। उनी कलाका साथै सुरक्षा, सामाजिक तथा परोपकारी क्षेत्रमा कलम चलाउँछन्।
यसपटकको कलालेखन पुरस्कार भने नरेन्द्रप्रसाद पौडेलले प्राप्त गरेका छन्। यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरिएको थियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिएको थियो।
‘म, मेरो देश र मेरो सिर्जना’ थिममा सुरु यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्ने कलाकार प्रा राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरिएको थियो।
समारोहमा ललितकलाका विभिन्न विधामा तीन दर्जन बढी कलाकारलाई पुरस्कार प्रदान गरिएको थियो।

