Aamsanchar

पानी चुहाउने टिपर ट्रयाक्टर चल्न अर्जुनधारा नगरले प्रतिबन्ध लगाउने

Author Image
बुधवार, जेठ १७, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा पानी चुहाउदै नदीजन्य सामग्री ढुवानी गर्ने टिपर तथा ट्रयाक्टरलाई चल्न प्रतिबन्ध लगाउने भएको छ ।
आज (बुधबार) टिपर, ट्रयाक्टर र क्रसर व्यवसायीहरू बीच नगरपालिकामा भएको छलफलमा यस्तो निर्णय भएको हो ।

नगर क्षेत्र भएर बग्ने विरिङ, टाङटिङ नदी र आधा दर्जन क्रसर उद्योगबाट टिपर, ट्रयाक्टरबाट चिसो बालुवा ढुवानी गर्दा सडकमा निरन्तर पानी चुहिने गरेकाले सडक छिट्टै भत्किने गरेको र सडक हिलाम्मे भएको कारण पछाडिका सवारी साधनमा पानी तथा हिलो उछिट्टिने गरेकाले दुर्घटना समेत हुने गरेकाले नगर क्षेत्र भित्र पानी खसाल्दै नदीजन्य सामाग्री ढुवानी गर्न नपाइने नियम लागू गर्न लागिएको नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए । उनले भने असोज १ गते देखि सो नियम लागु हुने छ ।

काठमाडौं क्षेत्रमा पानी चुहाउँदै बालुवा ढुवानी गर्न नपाउने नियम बनाइएको छ । त्यसका लागि टिपर, ट्रयाक्टरमा पानी जम्मा हुने भाडो बनाएको र जहाँ सामाग्री पुर्याउने हो त्यही ठाउँमा जम्मा भएको पानी पोख्ने गरेको देखे पछि सडक जोगाउन केही हदसम्म यो विधि उपयुक्त हुने भएकाले कोशी प्रदेशमै पहिलो पटक अर्जुनधारा नगरमा सो नियम लागू गर्न लागिएको मेयर गोमदेनले आमसंचारलाई बताए ।

अर्जुनधारा नगरबाट जिल्लाकै लागि नदीजन्य सामग्री ढुवानी हुने गरेको छ ।  अर्जुनधारामा दैनिक २ सय वटा टिपर ट्रयाक्टर आवत जावत गर्ने गरेको छ । त्यसमा ५० वटा जति नगर क्षेत्र भित्रका टिपरहरु रहेका छन् ।
सडकको क्षमता भन्दा धेरै वजन बोकेर नदीजन्य सामग्री ढुवानी हुने गरेको छ । सडक ऐनले यसरी सडकको क्षमता भन्दा धेरै मालसामान बोक्न निषेध गरेको छ । सडक ऐन र नगरको निर्णयलाई कडा रूपले कार्यन्वयन गराउने छलफलमा उपस्थित जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि असई याम खड्काले बताए ।

सरकारले स्थानीय अवस्थालाई नबुझिकन ३० एमएमको कालोपत्रे सडकमा लगानी गर्दा लगानी खेर गइरहेको छ । सरकारले अब देखि ५० एमएम भन्दा बाक्लो सडक बनाउनु पर्छ । स्थानीय पालिकाले सडक बचाउन ल्याएको विधि उपयुक्त भएकाले उक्त विधि अनुसार नै आगामी असोज १ गते देखि टिपर, ट्रयाक्टर सञ्चालन गर्ने व्यवसायीहरूले प्रतिवद्धता जनाएका छन् ।

नगरले १० चक्के हाइवालाई छिट्टै विकल्पित बाटोबाट मात्र चल्ने व्यवस्था मिलाउने भएको छ । त्यसका लागि विरिङ नदिको किनारै किनार वैकल्पिक सडक निर्माणको लागि केन्द्र सरकारमा योजना पेस गरेको नगर प्रमुख गोम्देनले बताए । उक्त योजना सम्पन्न भएपछि सबै प्रकारका मालबाहक ढुवानी  सवारीलाई सोही मार्गबाट मात्र चल्न अनिर्वाय नियम लागूगर्ने नगरको योजना रहेको छ ।

छलफलमा ट्रयाक्टर ढुवानी संघका अध्यक्ष इन्द्रबहादुर मगर, जयघटाल क्रसरका प्रतिनिधि मनोज खड्का, शान्ति निर्माण सेवाका चन्द्र गौतम, पाथिभरा क्रसरका सुरेन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर