Aamsanchar

बिर्तामोडमा सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती विषयक अभिमुखीकरण

Author Image
बुधवार, जेठ १७, २०८०

बिर्तामोड । केही सहकारी कर्मीहरूले गरेको बेइमानीका कारण सिंगो सहकारी क्षेत्र आलोचित बन्न पुगेको र सर्वसाधारणमा सहकारी प्रतिको विश्वास घट्दै गएको अवस्थालाई मध्यनजर गरेर सहकारीका छाता सङ्गठनहरूले सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् ।
आज ( बुधबार) बिर्तामोडमा झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला कृषि सहकारी संघ झापाले संयुक्त रुपमा  सञ्चारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहकारीहरुको वर्तमान अवस्थाको बारेमा जानकारी दिइएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का सञ्चालक सदस्य धनश्याम अधिकारीले बाहिर हल्ला चलेजस्तो झापाका सहकारीहरूमा ठूलो संकट नआएको बताए ।
उनले केही सहकारीहरूमा देखिएको समस्या समाधानका लागि सहकारी अभियान लागिरहेको जानकारी दिए । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर सहकारीहरू बन्द भएको राजधानीलगायत अन्य ठाउँको जस्तो समस्या झापामा नभएको अधिकारीले बताए । केही छिटफुट समस्या भएपनि समाधान गर्न नसकिने खालको नभएको उनको भनाई छ । सहकारीहरू विधिसम्मत ढंगबाट सञ्चालन गर्नुपर्ने अधिकारीको सुझाव रहेको छ ।
झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गणेश ढकालले विभिन्न कारणले जिल्लाका केही सहकारीहरूमा समस्या आएको भएता पनि समाधानका लागि संघ लागि रहेको बताए । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य र सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाका संयोजकसमेत रहेका ढकालले सहकारीहरूको एकीकरणलाई प्राथमिकता दिएर प्रारम्भिक संस्थाहरूलाई मजबुत बनाउने तर्फ अभियान केन्द्रित रहेको जानकारी दिए । सहकारीका सदस्यहरूलाई आफूले गरेको बचत फिर्ता गर्ने कुराको सुनिश्चितता संघले गर्ने ढकालले प्रतिबद्धता जनाए ।

कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको उत्तर दिँदै ढकालले सहकारीका सञ्चालकहरूले लिएको कर्जा मुष्ठ रुपमा असुल गरि सदस्यहरूको बचत फिर्ताका लागि आह्वान गरिएको र थुप्रै सहकारीहरुमा त्यस अनुरूपको प्रगति भएको बताए । सहकारी अभियानमा समस्या आउनुमा गलत सदस्यको पनि भूमिका हुने उनले बताए । ऋणीहरू बैंकको किस्ता पात्रोमा चिन्ह लगाएर समयमा तिर्ने तर सहकारीको चाँहि समयमा तिर्नु पर्दैन भन्ने सोचले पनि केही समस्या आएको उनको भनाई छ ।

पछिल्लो समय केहि अराजक व्यक्तिहरूले सहकारीका कर्मचारीहरूलाई हातपात गर्न थालेको भन्दै ढकालले दुख व्यक्त गरे । केही व्यक्तिहरूले वित्तीय संस्थाको ऋण तिर्नु पर्दैन भनेर चलाएको अभियान र उनीहरूले बनाएको अराजक समूहका कारण कर्मचारीहरू ऋण असुलीमा जाँदा शारीरिक पीडा भोग्नु परेको उनले बताए ।

सहकारीको वित्तीय जोखिम न्यूनिकरण र सदस्यको बचत सुरक्षाको सुनिश्चितता गर्दै सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा व्यवस्था भएको ‘कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षण कोष’ तत्काल स्थापना हुनुपर्ने लगायत १३ बुँदे मागपत्र कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय झापा मार्फत ध्यानाकर्षण गराएको प्रदेश तथा जिल्ला सहकारी संघका सचिव तथा कार्यक्रम सञ्चालक भवानीप्रसाद दङ्गालले जानकारी लिए । कुनैपनि वित्तीय संस्थाले बचतकर्ताहरू एकैपटक बचत फिर्ता माग्न गए दिन नसक्ने तर नियमित कारोबार गरिरहेको अवस्थामा बचतकर्ताको पैसा सहकारी हरूले नअड्काउने उनले बताए ।
झापा जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणि ओझाले बैंक सिकेर खोल्ने तर सहकारी खोलेर सिक्ने भएकाले पनि समस्या आएको बताए । राज्यले सहकारीमा बिचौलिया प्रवेश गराएको र अन्य वित्तीय क्षेत्रमा जस्तै सहकारीको नियामक निकायमा पनि दक्ष कर्मचारी नहुँदा समस्या भएको ओझाले बताए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन दंगाल र जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सहसचिव कमलकुमार घिमिरेले सहकारी हरूको वर्तमान अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
सहभागी सञ्चारकर्मी हरूको तर्फबाट शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कोरोना महामारीको समयमा सहकारी संघले पत्रकारहरूका लागि उपलब्ध गराएको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए । सहकारी ठूलो क्षेत्र भएकाले अभियानको मर्म अनुरूप सहकारीहरूले तल्लो स्तरमा पुर्याएको सेवाको अध्ययन र विश्लेषण गर्न सञ्चारक्षेत्रसँग सहकार्य गर्न आग्रह गरे । सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारीले महासङ्घको पत्रकार सहारा उपचार कोषलाई सहयोग गर्नपनि आग्रह गरे ।
कार्यक्रममा कृषि सहकारी संघकी केन्द्रिय उपाध्यक्ष मिनाकुमारी ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने र जिल्ला सहकारी संघ झापाका अध्यक्ष ढकालले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको उत्तर दिएका थिए । झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी कार्यक्रममा सहभागिहरुलाई स्वागत गरेका थिए ।

सरकारले सहकारी प्रति हेर्ने दृष्टिकोण र व्यवस्थापनमा उदासिनताको कारणले पनि समस्या देखा परेको भन्दै सहकारी कर्मीहरूले सहकारी क्षेत्रको चुनौतीहरू पहिचान गरेका छन् ।

यस्ता छन चुनौतीहरू

राज्यले बनाएको ऐन कानूनको पूर्ण कार्यन्वयन नहुनु । सहकारी प्रति राज्यको अनुदार नीति निरन्तर कायम रहनु । प्रारम्भिक संस्थाहरूको तुलनामा अभियान सबल हुन नसक्नु । पर्याप्त अध्ययन अनुसन्धान नहुनु । स्थानीय तथा प्रदेश सरकारसँग सहकार्यमा कमी । अहिलेको तरलता व्यवस्थापनको लागी सहकारी हरूलाई पूर्ण सहयोग गर्न नसक्नु । समायानुकुल नियम कानून निर्माण हुन नसक्नु । प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणको माध्यम बाट सदस्य संस्थाहरूलाई सुसासनमा ल्याउनु पर्ने । सबै प्रारम्भिक संस्था विषयगत संघ र जिल्ला संघको सदस्य नहुनु । संघ हरूसँग विषयगत दक्ष जनशक्तिको अभाव । संस्थाहरूको वर्गीकरण गरि स्तरीकरण गर्न नसक्नु । साख सूचनाको अभाव तथा सफ्टवेयरमा विविधताबाट कठिनाइ आउनु । सदस्यहरूको उत्पादनको बजारीकरण गर्ने आफ्नै बजार सञ्जाल नहुनु । बचत ऋण मुखी हुनु । आम रुपमा सहकारी सदस्यको हो भन्ने बुझाईको अभाव हुनु । बिचौलियाको घुसपैठ रोक्न राज्यले सहयोग नगर्नु रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर