Aamsanchar

सानी पाथीभरा मन्दिरमा दान भेटी हिनामिना भएको गुनासो उत्कर्षमा पुगेपछि छानबिन समिति गठन

Author Image
बुधवार, जेठ २४, २०८०

इलाम । इलामको रोङ गाउँपालिकामा अवस्थित सानी पाथीभरा मन्दिरमा दान भेटी हिनामिना भएको गुनासो उत्कर्षमा पुगेपछि छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन् । एक सदस्य रोङ गाउँपालिकाले तोक्ने बताइएको छ । रोङ गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो ।

गाउँपालिकाले पटक पटक छानवीनकाको लागि जिल्ला प्रशाुनलाई पत्र पठाएको तर प्रशासनले पत्रलाई वेवास्ता गरेर कुनै जवाफ नपठाएको भन्दै दुईदिने अगाडि रोङ गाउँपालिकाका राजनीति दलका नेताहरूले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर ध्यानाकर्षण पत्र पालिकालाई बुझाएका थिए ।

सोही दिन प्रशाुनमा बैठक बसेको थियो । सोही बैठकले छानविन समिति गठन भएको हो ।

पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न रोङ गाउँपालिका, दलहरू र सर्वसाधारणबाट दवाव बढेपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेर प्रक्रिया अगाडि बढेको छ । समितिले २५ दिनभित्र प्रतिवेदन तयार पार्ने जनाइएको छ ।

संस्था दर्ता ऐन, २०३४ बमोजिम मिति २०५५ साल भदौ २५ गते सो संस्था दर्ता भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै भनेको छ, ‘कोल्बुङ इलामको अपारदर्शी कार्यपद्धतिउपर नागरिकस्तरमा समेत उठेको गुनासो सम्बोधनका लागि संस्था दर्ता ऐन, २०३४ को दफा १० (१)  बमोजिम विस्तृत छानबिन गरी कानूनी अस्तित्व, कार्य सञ्चालनको अवस्था र आय–व्यय (नगद, जिन्सी) को अद्यावधिक विवरणसहितको यथार्थ प्रतिवेदन पेश गर्न सप्रजिअ ध्रुव कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी कार्यादेश दिइसकिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले प्रशासनको यो कदम स्वागतयोग्य भएको बताए । यद्यपि, लगातार दबाब दिएपछि मात्रै प्रशासनले सुनुवाई गरेको उनको भनाइ छ । ‘कम्तिमा हामीले प्रशासनलाई जानकारी गराएलगत्तै यो काम भएको भए त्यत्रो महिनाको गाउँपालिकाको आम्दानी त बढ्ने रहेछ । यही निर्णय अगाडि भएको भए रकम हिनामिना कमी हुने रहेछ नि ! बारम्बार पत्र पठाउँदा बल्ल यो काम भएछ, कतिको राम्रो छानबिन हुन्छ त्यो हामी पनि राम्ररी नियाल्छौँ,’ उनले गठित समितिलाई सहयोगसँगै उनीहरूको निष्पक्षतासमेत जाँच गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)