काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ । बैशाखदेखि बैंकहरुले निक्षेपको ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा ९ दशमलव ९९ प्रतिशत र बचतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतको ब्याजदर कायम गरेका छन् ।
यस्तै, राष्ट्र बैंकले व्यक्तिगत मुद्दतिमा भन्दा संस्थागत मुद्दतिको ब्याजदर २ प्रतिशत बिन्दुले कम कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार संस्थागत मुद्दति निक्षेपमा ७ दशमलव ९९ प्रतिशत ब्याजदर दिदै आएका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिका मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले मुद्रास्फीतिका लक्षित सीमाभन्दा तल नजाने गरी नीतिगत दर पनि ७ प्रतिशत नै राखेको थियो । मुद्रास्फीति लक्षित सीमाभन्दा माथि नै रहेकाले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाबाट बैंकदर चलाएपनि नीतिगत दर यथावत राखेको थियो ।
आगामी आर्थिक वर्षको लागि सरकारले बजेट मार्फत मुद्रास्फीति साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य मौद्रिक नीतिलाई दिएको छ ।