Aamsanchar

मनसुन भित्रिन नपाउँदै कैलालीमा धान रोपाइँ सुरु, मलको अभाव पनि उस्तै

Author Image
बुधवार, जेठ ३१, २०८०

धनगढी- मनसुन भित्रिन नपाउँदै कैलाली जिल्लामा धान रोपाइँ सुरु भएको छ । रासायनिक मललगायत कृषि सामग्रीको अभाव र सुख्खाबीच यहाँका किसानहरू धान बालीको रोपाइँ सुरु गरेका हुन् । कैलारी गाउँपालिका–८ दक्षिण टेढीका बाँधुराम चौधरी भन्छन्, ‘म ४ बिघा जमिनमा खेती गर्छु । खेतसम्म बाटो नहुँदा अरूले भन्दा पहिले नै रोपाइँ गर्नुपर्छ । पछि रोपाइँ गर्दा खेतसम्म जाने बाटोको समस्यासँगै कामदार पनि नपाइने समस्या हुन्छ । त्यसैले अहिले नै रोपाइँ सुरु गरेको छु ।’

स्थानीय कटैनी नदीको पानी मोटर पम्पबाट तानेर रोपाइँ सुरु गरेका उनीसँग रोपाइँको बेला खेतमा हाल्ने डीएपी मल छैन । तैपनि बाध्यतावश रोपाइँ सुरु गर्नुपरेको उनले पीडा पोखे ।‘डीएपी मल धनगढी आएको खबर सुनेको छु । रोपाइँ गरिसकेपछि छर्नुपर्ला’, उनी भन्छन्, ‘नदीको पानीले रोपाइँ त गरियो । पछि पानी परेन भने यसरी नै धान सिँचाइ गर्नुपर्ला । पोहोर साल पनि पम्प सेटले नै सिँचाइ गर्नुपरेको थियो ।’ कैलारी गाउँपालिका–१ हसुलियाका खुसीराम चौधरीले पनि जेठ २९ गतेदेखि धान रोपाइँ सुरु गरेका छन् । खेतसम्म पुगेको सिँचाइको पानीले उनले रोपाइँ सुरु गरेको जानकारी दिए । सिँचाइ कुलो भएकोले पानीको त्यति समस्या नभएको बताउने उनले अब पनि पानी नपरे रोपेको धान सुक्ने चिन्ता व्यक्त गरे ।

धनगढी उपमहानगरपालिका–६ का विदेशराम चौधरीले जेठ २७ गते नै धान रोपाइँ सकाएका छन् । १ बिघा जमिनमा धान रोपाइँ गर्दै आएका उनले पनि कामदार नपाइने समस्याका कारण जेठ महिनामै रोपाइँ सम्पन्न गरेको जानकारी दिए । जिल्लाको केही किसानले धान रोपाइँ सुरु गरे पनि अधिकांश किसान भने रोपाइँको तयारीमा जुटेका छन् । धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कैलालीमा मल, बिउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले अकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । कैलालीमा विगतको वर्षझैँ हाल पनि रासायनिक मलको अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह खड्काले पहिलो चरणमा आएको डीएपी र यूरिया मल वितरण भइसकेको बताए । १६६३ मेट्रिक टन डीएपी मल पुनः एक हप्ताभित्रै धनगढी ल्याउने तयारीमा रहेको बताउँदै बोगटीले सो मल आएपछि केही सहज हुने जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर