

झापा – झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी अहिले २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक सात लाख रुपैयाँभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ ।

उहाँले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका गाईपालन भइरहेको बताउनुभयो । बाहुनडाँगीका प्रायजसाे किसानले भारतको बेङ्ग्लोर तथा केरलाबाट उन्नत जातका गाई ल्याउने गरेका छन् । यहाँका किसानले होलस्टेन, साइबल र जर्सी जातका गाईपालन गर्दै आएको उहाँको भनाइ छ । जसमध्ये साइबल जातको गाईले तुलनात्मक रुपमा धेरै दूध दिने किसानको अनुभव छ ।

‘साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ’, उहाँले भन्नुभयो । उहाँले १० महिनाअघि मात्र बैग्लोरबाट दुई लाख ३५ हजार रुपैयाँका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइएको बताउनुभयो । जसमध्ये तीन वटा उहाँकै फार्ममै छन् ।

उहाँले मात्रै दैनिक छ सय लिटर दूध बिक्री गर्नुहुन्छ । प्रतिलिटर ७७ रुपैयाँका दरले दैनिक ४५ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्नुहुन्छ । विगत ३५ वर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आउनुभएको निरौलाले छ वर्षयता गाईफार्म सुरु गर्नुभएको हो ।
लामो समयदेखि हात्तीको आक्रमणबाट पीडित बनेका बाहुनडाँगीवासी गाईपालनबाट सन्तुष्ट छन् । ‘बाली लगायो जङ्गली हात्तीको आक्रमणका कारण थन्क्याउनै पाइँदैन थियो’, उहाँले भन्नुभयो, ‘गाईपालनले आम्दानी पनि दिएको छ भने काम गर्न सहज पनि भएको छ ।’ उहाँले गाईको आहाराका लागि बारीमै जौ, नेपियरलगायत जातका घाँस खेती गर्दै आएको बताउनुभयो ।
प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत् दूधमा अनुदान समेत दिँदै आएको छ । उहाँका अनुसार प्रतिलिटर दुई रुपैयाँको दरले दिइने अनुदानले किसानलाई प्रोत्साहन मिलेको बताउनुभयो ।

